नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियालाई अक्टोबरबाट लागू हुने गरी उडान स्लट दिएको छ। थाइ एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डको बैंकक उडान स्लट दिइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
ठाकुरका अनुसार यो एयरलाइन्सलाई रातको १२ः३० बजे अवतरण र १ः३० बजे उडान गर्ने गरी बुधबार अनुमति दिइएको हो।
'थाइ एयर एसियालाई अक्टोबरबाट उडान गर्ने गरी अनुमति दिइएको छ। यसका लागि प्राधिकरणले उडान स्लटसम्बन्धी राय मागेको थियो,' उनले भने।
कोभिडपछि वैदेशिक रोजगारीमा जाने नेपालीको चहलपहल बढेसँगै थाइ एयर एसियाले नेपालमा उडान तयारी सुरू गरेको हो। यसले काठमाडौं-बैंकक सिधा उडान गर्नेछ।
थाइ एयर एसियाले नेपालमा उडान गर्ने चर्चासँगै विवाद पनि सिर्जना भएको छ। प्राधिकरणले आफूलाई बक्यौता नतिरेको कम्पनीलाई उडान अनुमति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो।
थाइ एयर एसिया एयर एसिया समूह अन्तर्गतको कम्पनी हो। एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १८ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी छ।
प्राधिकरणका अनुसार तीन वर्षअघिसम्म एयर एसियाले एयरबसको वाइडबडी (ए–३००) सिरिजको जहाजमार्फत काठमाडौं–मलेसियामा साताको सात उडान गर्थ्यो। सन् २०१९ डिसेम्बरबाट उडान रोकियो। यो कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अवतरण, पार्किङ, नेभिगेसन, भाडाअन्तर्गत सेवाबापतको शुल्क नतिरेपछि उडान बन्द भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
'नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया जाने यात्रुको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी हुन्थ्यो,' निरौलाले भने, 'राम्रै आम्दानी गर्दा पनि उक्त एयरले बक्यौता रकम भने बुझाएन। कोरोना सुरू भएपछि उड्डयन क्षेत्रमा असर पर्यो। त्यो बेलादेखि नै प्राधिकरणले एयर एसियासँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ। अहिले पनि हामीले पत्र पठाएका छौं।'
उनका अनुसार प्राधिकरणले मलेसियास्थित एयर एसियाको कार्यालयलाई बक्यौता रकम तिर्न पटकपटक पत्र पठाइरहेको छ।
यसरी बक्यौता नतिरी भागेको कम्पनीमातहतकै अर्को एयरलाइन्सलाई उडान अनुमति किन दिइयो त?
यो प्रश्नमा प्रवक्ता निरौला भन्छन्, 'जुनसुकै एयरलाइन्स कम्पनी उडानका लागि आउँदा हामीले स्वागत गर्नुपर्छ। थाइ एयर एसियालाई पनि हामीले अनुमति दिएका हौं। मलेसिया एयर एसिया नै आए पनि हामीले उडान अनुमति दिन्छौं, त्यसपछि बक्यौता पैसा असुली गर्छौं।’
कुनै कम्पनीले बक्यौता नतिर्दा त्यही कम्पनी, त्यससँग जोडिएका वा अन्य कम्पनीलाई नेपाल उडान गर्न नदिने भन्ने नियम नरहेको उनले बताए।
'बक्यौता तिर्न बाँकी रहेका एयरलाइन्सले पनि उडान अनुमति पाएपछि पुरानो राजस्व बुझाउनु पर्छ। अनि पुनः उडान गर्न पाउने छन्,' उनले भने, 'त्यसकारण पुरानो रकम तिर्न बाँकी छ भन्दैमा अरू एयरलाइन्सलाई समेत उडान अनुमति दिइएन भने थप राजस्व वृद्धि हुँदैन।'