संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल र पोल्याण्डबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ।
मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ दिगो बनाउनु पर्नेमा जोड दिए।
पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले कोभिड महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजना अनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी दिए।
उक्त भेटमा पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको लागि रहेका नेपालीहरू तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्ने बारेमा पनि छलफल भएको छ।
मन्त्री श्रेष्ठले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन संगठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षा सम्बन्धी सूचीमा राख्न नहुने धारणा व्यक्त गरे।
आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश सुरक्षित रहेको पुष्टि गरिसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।
राजदूत बुराकोव्स्कीले सन् १९९२ मा कञ्चनजंघा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिए।
रुटकिविज युरोपबाट सगरमाथा आरोहण गर्ने तथा केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन्।
भेटवार्तामा नेपालको पर्यटन प्रवर्द्धनका उपायहरूबारे समेत छलफल भएको छ।
भेटमा मन्त्रालयका निमित्त सचिव वुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको समेत सहभागिता थियो।