केबलकार भन्नासाथ धेरैको दिमागमा आइहाल्छ, दर्शनयात्रा। त्यसमा पनि चन्द्रगिरि, मनकामना, कालिञ्चोक लगायत केबलकार निकै चर्चित छन्। बालबालिकादेखि वृद्धवृद्धालाई लिएर मन्दिर जाँदा पैदलमार्गको पहुँच भए पनि रमाइलोका लागि केबलकार चढिन्छ।
यसरी नै यात्रा गरिरहेका बेला केबलकार झ्याप्प बीचमै अड्कियो भने के होला? सोच्नुभएको छ।
यसो हुँदा डर, त्रास केबलकारभित्रै कोलाहल मच्चिन सक्छ। अझ भनौं केबलकार नै खस्ने पो हो कि? तार चुँडिने पो हो कि? कसरी र कसले बचाइदेला?
यस्तो जिज्ञासा धेरैलाई लाग्न सक्छ।
केही साताअघि मात्र चन्द्रगिरि केबलकारमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित थुप्रै यात्रु बीचमै अड्किएका थिए। करिब एक घन्टापछि उनीहरूको उद्धार गरिएको थियो।
केबलकार के कारण बीचमै रोकिन्छ र यात्रुलाई कसरी उद्धार गरिन्छ त?
चन्द्रागिरि केबलकार कम्पनीका इञ्जिनियर सरोज चापागाईंका अनुसार केबलकार हावाहुरी र चट्याङ लागेको बेला रोकिन्छ। यसबारे कम्पनीले पहिले नै जानकारी दिएको हुन्छ। यसबाहेक पनि केबलकार रोकिने कारण छन्।
बिजुली गएका बेला र प्राविधिक समस्या देखिएमा केबलकार रोकिन्छ। यस्तो बेलामा उकालो चढ्दै गरेको र ओरालो झर्दै गरेको केबलकारको बाकस एकैपटक अड्किन्छन्। बिजुली गएर केबलकार रोकिएको खण्डमा तत्काल जेनेरेटर चल्ने चापागाईं बताउँछन्।
कहिलेकाहीँ प्राविधिक समस्या पनि देखिन्छन्। समस्याअनुसार यात्रुको उद्धार गर्न समय लाग्ने कम्पनीका चापागाईं बताउँछन्। उनका अनुसार कतिपय समस्या तत्काल समाधान हुन्छन् भने केही समाधान गर्न थप समय लाग्छ।
धेरै लामो समय लाग्ने समस्या भएमा तत्काल 'इमर्जेन्सी ड्राइभ' प्रयोग गरिने उनले बताए।
केबलकारमा रोकिएकालाई इमर्जेन्सी ड्राइभमार्फत उद्धार गर्ने र लामो समय रोकिएर सबभन्दा माथिल्लो स्टेसनमा रहेकालाई गाडीमार्फत उद्धार गरिने उनले बताए।
'इमर्जेन्सी ड्राइभ सिस्टम एउटा जेनेरेटर जस्तै हो,' उनले भने, 'इमर्जेन्सी ड्राइभ सिस्टम चलाएर अड्किएका यात्रुको उद्धार गरिन्छ।'
त्यसपछि केबलकारमा देखिएको समस्या समाधान गरिन्छ। यसका लागि प्राविधिक समूह जुनसुकै समयमा पनि तयारी अवस्थामै हुने उनको भनाइ छ।
'कहिलेकाहीँ सफ्टवेयरमा पनि समस्या आइदिन्छ। तर हामीले प्राविधिक समूहलाई तयारी अवस्थामा राखेका हुन्छौं,' उनले थपे, 'समस्या हो, कुन दिन कति बेला देखिन्छ भन्ने थाहा हुँदैन।'
यस्तो समस्या देखिँदा कम्तीमा १५ मिनेटभित्र समाधान हुन सक्ने देखियो भने समाधान गरेरै केबलकार चलाइने उनले बताए। त्योभन्दा बढी समय लाग्ने देखिएमा इमर्जेन्सी ड्राइभ सिस्टम चलाएर उद्धार गरिन्छ। तर इमर्जेन्सी ड्राइभले यात्रुलाई उद्धार गर्न ४० मिनेट लाग्ने चापागाईंले बताए।
'सामान्यतया केबलकारले प्रतिसेकेन्ड पाँच मिटर दुरी पार गर्छ। तर इमर्जेन्सी ड्राइभ हुँदा प्रतिसेकेन्ड एक मिटर दुरी पार गर्छ। त्यसकारण उद्धारका लागि कम्तीमा ४० देखि बढीमा ४५ मिनेट लाग्छ,' इञ्जिनियर चापागाईंले सेतोपाटीसँग भने।
सञ्चालनका लागि विद्युत, जेनेरेटरसँगै इमर्जेन्सी ड्राइभ प्रयोग गरिएका कारण चन्द्रागिरि हिल्सको केबलकार सेवा सुरक्षित रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। कम्पनीले पूर्ण स्वचालित प्रविधिमार्फत केबलकार सेवा दिएकाले विश्वकै सुरक्षित रहेको उनको दाबी छ।
'२० हजारभन्दा बढी केबलकार सेवा रहेको अस्ट्रियन कम्पनीको मेसिन प्रयोग हुन्छ। त्यस कारण पनि अन्तर्राष्ट्रियस्तरमै शतप्रतिशत सुरक्षित छ,' ढकालले भने।
यद्यपि कहिलेकाहीँ प्राविधिक समस्या देखिएमा यात्रुको उद्धार टोली तयारी रहेको बताउँदै उनले थपे, 'उद्धारपछि कम्पनीले आफ्नै रिसोर्टमा पनि राख्नेछ। त्यसबापतको खर्च कम्पनीले बेहोर्छ।'