'पोखराको फेवातालमा कायाकमा डुबेर तीन पटकसम्म रोलिङ (उल्टोसुल्टो) गरेकी थिएँ। त्यो पल सम्झिँदा आज पनि अत्यन्तै खुसी मिल्छ। जीवनको सबभन्दा रमाइलो क्षण नै त्यही थियो।'
र्याफ्टिङ प्रशिक्षक सीता थापाले सुरूमै सुनाइन्। त्यति बेला उनी मात्र १२ वर्षकी थिइन्। पानीमा खेल्न निकै रूचाउँथिन्। मन लाग्यो कि फेवाताल पुगिहाल्थिन् र कायाकमार्फत सरर्र ताल घुम्थिन्।
सानै उमेरमा फेवाताललाई र्याफ्ट र कायाकले फन्को मारेकी सीतालाई नेपालका नदीमा त्यसरी नै यात्रा गर्ने रहर भयो। तालमा जस्तो सहज नदीमा हुने होइन। इच्छाशक्ति र आत्मविश्वासले सफल भइन्छ भन्ने चाहिँ उनलाई लाग्थ्यो।
'सानो कायाकमा डुबेर रोलिङ हानेकी थिएँ, कतिपय तरिका आफैं जानेकी थिएँ,' त्यो समय सम्झिँदै उनले भनिन्, 'टेकनिक जान्यो भने जति ठूलो ताल र नदीमा पनि र्याफ्ट गर्न सकिन्छ भन्ने त्यति बेलै लागेको थियो।'
पोखराको लेकसाइडमै छ उनको घर। घरवरपरि र्याफ्टिङ एजेन्सीका कार्यालय छन्। त्यहाँ आउने पर्यटक र र्याफ्टिङ गाइडहरूसँग चिनजान गर्थिन्, र्याफ्टिङबारे बुझ्थिन्।
उनलाई याद छ, बाह्र वर्षको उमेरमा पहिलो पटक फेवातालमा कायाकिङ गरेको। तालिम बिनै तालमा कायाक लिएर पसेकी सीतालाई रहरसँगै डर पनि थियो। यसरी कायाकिङ गर्दागर्दै उनको रहर नदीतिर तानियो। उनले कायाकिङको तालिम लिने सोच बनाइन् तर कसले सिकाउला!
'तँ आँट गर, म पुर्याउँछु' भन्ने कथन उनको जीवनमा ठ्याक्कै मेल खान आयो।
सन् २००७ तिरको कुरा हो, स्वीडेनकी यिंका गुरुङसँग उनको भेट भयो। अन्ततः यिंका नै सीताको जलयात्राको सारथि बनिन्।
'यिंका नेपाली हुनुहुन्थ्यो तर स्वीडेनी नागरिकसँग बिहे गर्नुभएको रहेछ। नेपाल आएका बेला भेट भएको थियो,' सीताले सेतोपाटीसँग भनिन्, 'उहाँ नै मेरो गाइड बन्नुभयो, धेरै कुरा सिक्ने अवसर पाएँ।'
तालमा कायाकिङ गरिरहेकी सीताले यिंकासँग कायाक उल्टिँदा सुल्टाउने, पानीको छाल पार गर्ने लगायत थुप्रै सिप सिकिन्। जति सिक्दै गयो उति नै जोस-जाँगर बढ्दै गयो।
उनले भनिन्, 'तालमा मात्र होइन, त्यति सिकेपछि त ठूलै नदीमा पनि कायाकिङ गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो।'
सीताले कायाकिङलाई नै पेसा बनाउने सोचिन्।
र्याफ्टिङ चलाउने भएपछि त्यसका लागि लाइसेन्स चाहियो। लाइसेन्स लिन कम्तीमा दुई वर्ष एउटा कम्पनीमा काम गरेको अनुभव चाहिने नियम छ। सीता पोखराकै 'प्याडल नेपाल' नामक कम्पनी प्रवेश गरिन्। त्यहीँ उनको व्यावसायिक र्याफ्टिङ यात्रा सुरू भयो। पहिलो र्याफ्टिङ भयो पोखरा भएर बग्ने सेती नदीमा।
सेती नदी कायाकिङ र र्याफ्टिङ सिक्ने स्कुलका रूपमा मानिन्छ। सीता पहिलो पटक केही विदेशी महिलाहरूको साथमा दमौलीबाट चार दिवसीय जलयात्रामा निस्किन्। उनका अनुसार यो चार दिनको तालिम थियो। पहिलो दिन तालमै सिकाइएको थियो। बाँकी तीन दिन खोलामा जानु पर्थ्यो।
'पहिलो दिन हल्काफुल्का अर्थात ग्रेड वन, दोस्रो दिन केही बढी 'ग्रेड टु' र तेस्रो दिन झन् बढी 'ग्रेड थ्री' मा पानीका छालहरू भेटिएका थिए,' सीताले अनुभव सुनाइन्, 'जति बढी पानीको छाल भेटिन्छ त्यति नै बढी मज्जा लाग्थ्यो।'
फेवातालबाट नदीसम्म पुग्दा उनले धेरै सिप सिकिन्। अवसरसँगै जोखिम पनि देखिन्। उनको अनुभवले भन्छ, जहाँ जोखिम हुन्छ त्यहीँ बढी रमाइलो हुन्छ, अवसर पनि हुन्छ।
यसरी सीता नदीमा कायाक चलाउन सक्ने भइन्। उनलाई पहिलो पटक सन् २००८ मा सिन्धुपाल्चोकको 'सुकुटे रिसोर्ट' ले बोलायो। नेपाल र तिब्बतको सिमानामा पर्ने भोटेकोशी नदीमा र्याफ्टिङ गर्नु विश्वकै जोखिमयुक्त मानिन्छ।
यसलाई पनि अवसर मानेर सीता सुकुटे पुगिन्। सीताका अनुसार भोटेकोशी क्याम्पमा पुगेको केही दिनमै विदेशी नागरिकलाई कायाक सिकाउने अवसर मिल्यो।
'यति राम्रो अवसर मिल्यो कि यिंका ३७ जना विदेशी महिला लिएर भोटेकोशीमा कायाकिङ गर्न आउनुभएछ,' उनले भनिन्, 'सुकुटेबाट सुरू भएको दस दिनको यात्रा सुनसरीको चतारासम्म पुगेको थियो।'
यसपछि अवसरको खाँचो भएन। नदीमा बग्दै गर्दा महिला गाइड हुँदैन थिए। कहिलेकाहीँ केही समस्या भइहाले उनी पुरुष गाइडलाई सोध्थिन्। सीताका अनुसार उनी र्याफ्टिङ गाइड पुरुषहरूबाट धेरै जसो नकारात्मक जवाफ पाउँथिन्। उनीहरू सहयोग गर्न तयार हुँदैनथे। यसले सीतालाई कहिलेकाहीँ निराश पनि बनाउँथ्यो। तर धेरै जसो 'गरेर देखाउने' साहस दिन्थ्यो।
सीताले सबभन्दा लामोमा दस दिनको जलयात्रा गरेकी छन्। कायाकिङ र र्याफ्टिङका लागि अनेक नदीमा पुगेकी छन्। र्याफ्टिङका लागि खुला गरिएका नदीमध्ये तमोरमात्र बाँकी छ उनी पुग्न।
'कतिपय पर्यटकहरू सिक्न आउँछन्। कोही जलयात्रामा रमाउन आउँछन्,' सीताले भनिन्, 'केही महिनाअघि स्वीडेनका एक जोडी हनिमुनका लागि भोटेकोशी आएका थिए।'
पाहुना लिएर खोलाको यात्रामा निस्किँदा सबै कुराको मेसो मिलाउनु पर्छ। खाना बनाउन ग्यास सिलिन्डर, बासका लागि टेन्ट लगायत सामान लिएर हिँड्नु पर्छ। दिनभर जलायात्रा अनि बेलुका गन्तव्यमा पुगेपछि टेन्ट हाल्ने, पाहुनालाई खाना बनाएर खुवाउने आदि सबै काम पनि आफैं गर्छिन् सीता। कहिलेकाहीँ सहयोग पनि पाउँछिन्।
उनी भन्छिन्, 'समूहमा जाने भएकाले कहिलेकाहीँ गेस्टहरूले पनि टेन्ट हाल्ने र खाना बनाउने काममा सघाउँछन्।'
कहिलेकाहीँ र्याफ्टिङ गर्दागर्दै पानीको बहाव बढ्छ। प्रायः बर्खाको सिजनमा यस्तो हुन्छ। र्याफ्टिङ जाँदाजाँदै खोलो बढेर अघि बढ्नै नसकिने पनि हुन्छ। यस्तो बेलामा यात्रा रोकिएकै ठाउँमा क्याम्प बनाएर बस्नु पर्छ। कहिले त जंगलमा पनि परिन्छ।
'प्रकृतिको कुरा थाहै हुँदैन, जाँदाजाँदै कहिले पहिरो आइदिन्छ,' सीता भन्छिन्, 'छाल नै नभएको ठाउँमा पनि अचानक आइदिन्छ।'
डेढ दशकदेखि यस्तो साहसिक पर्यटनमा रमाइरहेकी सीता र्याफ्ट र कायाकसँगै ट्रेकिङ गाइड पनि हुन्। उनी जहाँ कामको माग छ, उतै पुग्छिन्। सानाठूला कायाक र ठूला र्याफ्टको तालिम दिन थालेको पनि निकै वर्ष भइसक्यो।
२० वर्षकी हुँदा व्यावसायिक रूपमा खोलामाथि बग्न थालेकी सीता ३५ वर्ष पुगिन्। उनी र्याफ्टिङमा आउँदा महिला गाइड नगन्य थिए।
'त्यति बेला रिभर गाइडमा दुई–तीन जना मात्र (महिला) थियौं। यो क्षेत्रमा महिलाको सहभागिता बढाउनु पर्छ भन्ने सोच आयो,' सीताले भनिन्, 'लगत्तै मैले आठ जना महिलालाई कायाकिङमा ल्याएँ।'
सीताले आफ्नै पहलमा उनीहरूलाई जलयात्रामा ल्याएकी थिइन्। उनले खोलाको बीचमा सजिलो ठाउँमा उनीहरूलाई कायाकिङ सिकाइन्। केही दिन सिके पनि उनीहरूले यसमा इच्छा देखाएनन्। सीताका अनुसार आठ जनामध्ये एक जना मात्र र्याफ्टिङ गाइड बनिन्। सीताले हालसम्म कम्तीमा ७० जना महिलालाई प्रशिक्षण दिएकी छन्।
प्रशिक्षण लिए पनि धेरैले काम गरेनन् वा सुरू गरेर पनि छाडिहाले। धेरैले यात्राको जोखिम र परिवारको असहमतिका कारणले काममा निरन्तरता दिन नसकेको उनको ठहर छ।
उनका अनुसार एउटा र्याफ्ट ५० केजीदेखि ८० केजीसम्मको हुन्छ। कुनै बेला एक्लै बोक्नुपर्छ। हावा हाल्नु पर्छ। यो काम निकै गाह्रो हुन्छ। र्याफ्टिङमा खाना, बस्ने सबै सामान बोकेर हिँड्नु पर्छ। यो सबै व्यवस्थापन गर्न इच्छाशक्ति र जाँगर चाहिन्छ। र्याफ्टिङ बुकिङ, समूह विभाजन, सुरक्षा निर्देशन लगायतका काम पनि गर्नु पर्छ।
उत्साही महिलाहरूलाई उनको सुझाव छ, 'सुरूमा घरपरिवार र समाजलाई बुझाउन सक्नु पर्छ। नत्र कुनै पनि काम गर्न सकिँदैन। उतारचढाव जेमा पनि आउँछ। आत्मविश्वासका साथ अघि बढ्दा सफल भइन्छ।'
साहसिक पर्यटनमा रमाइरहेकी सीता विदेश पनि पुगेकी छिन्। पहिलो पटक सन् २०१९ मा कायाकिङ सिकाउन स्वीडेन गइन्।
र्याफ्टिङमा वर्षको ६ महिना सिजन हुन्छ, बाँकी ६ महिना अफ-सिजन। नेपालमा र्याफ्टिङको अफ सिजन हुँदा अरू केही मुलुकमा सिजन चल्छ। त्यस बेला गाइडहरू विभिन्न मुलुक पुग्छन्।
'अफ-सिजन भनेर पूरै बन्द हुने हुँदैन, तर सिजनमा जस्तो भिड हुँदैन,' सीता भन्छिन्, 'त्यो बेला जुन मुलुकबाट माग आउँछ त्यहीँ पुग्छौं।'
उनी कायाकिङ सिकाउन अहिलेसम्म स्वीडेन र जापान गरी चार पटक देशबाहिर गइन्। उनका अनुसार जापान, स्वीडेन, टर्की, नर्वे, क्रोएसिया लगायत देशमा रिभर-गाइड नेपाली महिलाको माग बढी छ। हरेक वर्ष महिला र पुरुष गरी चार सय जनाभन्दा बढी रिभर-गाइड विदेश जान्छन्। ती मुलुकमा रिभर-गाइड नेपालीले सम्मानजनक व्यवहार पाउने गरेको उनको अनुभव छ। एक गाइडले विदेशमा महिनामै कम्तीमा सात लाख रूपैयाँ कमाउने गरेको उनले बताइन्।
'स्वदेशमै र्याफ्टिङ, कायाकिङ र ट्रेकिङबाट मासिक पाँच लाख रूपैयाँभन्दा बढी कमाइ हुन्छ,' उनी भन्छिन्, खोलालाई परिवार र अभिभावकका रूपमा लिन्छु। यिनै खोलाबाट देश–विदेश घुम्ने अवसर पाएकी छु।'
भविष्यमा कायाकिङ स्कुल खोल्ने सीताको लक्ष्य छ। आफूले खोलामा बिताएको समय र गरेको योगदान जीवित राख्न र आगामी पुस्तालाई जलखेल सिकाउन कायाकिङ स्कुल खोल्ने योजना बनाएको उनी बताउँछिन्।