नेपालको हवाइ क्षेत्रबारे अडिट गर्न युरोपेली युनियन (इयू)को टोली नेपाल आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले इयूको टोली सेफ्टी अडिटका लागि नेपाल आउन लागेको जानकारी दिएका हुन्।
आइतबार आयोजित आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले इयूको टोली नेपाल आउन लागेको बताएका हुन्। यससँगै नेपालको हवाइ क्षेत्रलाई निरन्तर कालो सूचीमा राखेको इयूले नेपाललाई सूचीबाट हटाउने संकेत देखिएको छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इयूले गत शुक्रबार पत्रमार्फत अडिट टोली नेपाल आउने जानकारी दिएको बताए।
'इयूले हामी आउँदै छौं भनेर पत्र पठाएको छ। त्यसपछि कालो सूचीबाट हट्ने/नहट्ने थाहा हुन्छ,' कार्यक्रममा बोल्दै श्रेष्ठले भने।
अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आइकाओ)ले नेपालको हवाइ क्षेत्र सुरक्षित रहेको बताइसके पनि इयूले कालो सूचीबाट नेपाललाई हटाएको छैन। त्यस्तै, प्राधिकरणले पनि पटक-पटक नेपाललाई कालो सूचीबाट हटाउन माग गर्दै आएको छ।
विगत १० वर्षदेखि बिना कारण नेपाललाई कालो सूचीमा राखेको बताउँदै इयूसँग नेपाललाई के कारण कालो सूचीमा राखेको भन्दै आफूले जानकारी समेत मागेको मन्त्री श्रेष्ठले बताए।