संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन्।
आईतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन्।
‘युरोपियन युनियनको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसको लागि हामीले उच्च प्राथमिकताकासहित काम अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेकै हौँ। सम्बन्धित निकायहरुसँग कुराकानी गर्ने काम्पनी निरन्तर रूपमा भइरहेकै हो’, उनले भने, ‘आईकाओले अडिट गरेको अवस्थामा हामीले जुन पोजिशन पाएका छौँँ, हामीले राम्रो स्कोर पाएका छौँ भने अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ।’
उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताए। उनले सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए।
‘हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुराको लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ। मलाई लाग्छ यो हाम्रो लागि खुशीको कुरा हो। अब हामी यो प्रक्रियाबाट चाँडै नै युरोपियन युनियन अथवा इशाको कालो सूचीबाट हट्छौँ र हामी युरोप फ्लाइटहरु पनि गर्नसक्ने स्थिति निर्माण हुन्छ,’ उनले भने।
उनले भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरिने बताए। त्यसका लागि नयाँ विमानहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने उनको भनाई छ।
‘भैरहवा विमानस्थललाई पूर्ण रुपले सञ्चालन गर्नेतर्फ पनि हाम्रो ध्यान गएको छ। त्यहाँ कसरी नयाँ विमानहरुलाई आकर्षित गर्ने, र सञ्चालनका लागि सुविधाहरु कसरी दिने भन्ने कुराहरुमा उल्लेख गरेका छौँ’, उनले भने, ‘क्यानको तर्फबाट दिँदैँ आएको छुटलाई निरन्तरता दिने कुराहरु र नेपाल एयरलाइन्सको तर्फबाट ग्राण्ड हेल्डीलिङका कुराहरुलाई पनि अहिले केही त्यसलाई रिभ्यु गर्ने काम भइसकेको छ। त्यसका केही छुट अझ हामीले दिने कुराहरु गरेका छौँ । त्यो काम अगाडि बढाउँछौँ।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अहिलेको अवस्था भन्दा अझ जहाजको संख्याहरु बढ्ने र फुल फेजमा सञ्चालन हुने स्थिति बन्ने उनले दाबी गरे।
मन्त्री श्रेष्ठले विमानस्थललाई समृद्ध बनाउनु आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पारे।