नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि ४१ अर्ब ८५ करोड रूपैयाँको बजेट ल्याएको छ।
यही साउन ८ गते पोखरामा बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बजेट प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।
विमानस्थलको पूर्वाधार विकास, विमानस्थल सञ्चालन, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा परेका छन्। यसका लागि प्राधिकरणले २६ अर्ब ८२ करोड रूपैयाँ पुँजीगततर्फ बजेट बिनियोजन गरेको छ।
प्राधिकरणको कुल बजेटमा आम्दानी १४ अर्ब ३२ करोड रूपैयाँ छ भने सरकारको ऋण तथा सेयर १२ अर्ब २४ करोड रूपैयाँ छ। नेपाल सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड, २०७९ जेठसम्म बढी भुक्तानी भएको मूल्य अभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनुपर्ने ३ अर्ब १ करोड छ।
साउन १ गतेको सुरूको पेश्की मौज्दात ३ अर्ब ५ करोड, साउन १ गतेको सुरूको बैंक मौज्दात ८ अर्ब ३५ करोड रूपैयाँ गरी प्राधिकरणले ४१ अर्ब ८५ करोड रुपैयाँको बजेट देखाएको छ।
प्राधिकरणले विशेषगरी विमानस्थलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। यसै वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम सुरू हुनेछ।
आगामी पाँच वर्षमा भवन निर्माणको काम सम्पन्न हुने यो भवनको लागत ४० अर्ब लाग्ने अनुमान गरिएको छ। यसका लागि फ्रेन्च कम्पनी एडिपिआइले सन् २०१६ मै टर्मिनलको डिजाइन तयार पारेर बुझाएको थियो।
त्यस्तै चालु आर्थिक वर्षमा ६ वटा विमानस्थलमा आन्तरिक टर्मिनल भवन निर्माणको काम सुरू हुनेछ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक टर्मिनल भवनको निर्माण सुरू हुनेछ। त्यस्तै महेन्द्रनगर, विराटनगर, नेपालगन्ज, भरतपुर, रामेछापमा नयाँ आन्तरिक टर्मिनल भवन बनाइने कार्यमा रहेको बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गर एरियाको डेभलपमेन्ट, प्यारालाल ट्याक्सी वे र एप्रोन एरिया विस्तार गरिने कार्यक्रम छ। भक्तपुरको नलिनचोकमा हेलिप्याड निर्माणको काम यसै आर्थिक वर्षबाट सुरू हुनेछ।
पोखरा विमानस्थलको रिठेपानी डाँडा कटिङ र डम्पिङ साइट स्थानान्तरण गर्ने कार्यक्रम पनि नयाँ बजेटमा राखिएको छ। त्यस्तै, निजगढ विमानस्थलको लागि सर्वोच्च अदालतको आदेशअनुसार विज्ञ टिम बनाइ अध्ययन गर्ने भएको छ। यसका लागि प्राधिकरणले यसअघि नै विज्ञ समिति बनाउने निर्णय गरेको थियो। त्यस्तै भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवनसँगै धावनमार्ग विस्तार हुने भएको छ।
यससँगै प्राधिकरणले चालु आर्थिक वर्षमा थप नयाँ काम गर्ने बताएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिडपछीको पर्यटन क्षेत्रलाई पुनरुथानका लागि ल्याएको कार्ययोजनाका काम सुरू गर्ने बताएको छ।
कार्ययोजनामा प्राधिकरणअन्तर्गत १३ वटा बुँदा परेको छ। जसमा आगामी तीन महिनाभित्र प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने भएको छ। हाल मुलुकभर ५४ वटा विमानस्थल छन्। तीमध्ये दुइटा अन्तर्राष्ट्रियसहित ३५ वटा विमानस्थल मात्र सञ्चालनमा छन्।
त्यस्तै अन्तरप्रादेशिक हवाइ सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ। हाल अन्तरप्रादेशिक हवाइ सेवा विस्तारको काम भइरहेको र निरन्तर भइरहने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
आगामी ६ महिनाभित्रमा नेपालको उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालनमा ल्याउने कामको प्रक्रिया पनि अघि बढेको उनले बताए।