भक्तपुरको नलिनचोकमा टर्मिनल भवनसहितको हेलिप्याड निर्माण हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षमा नलिचोकमा टर्मिनल भवनसहितको हेलिप्याड बनाउनका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्राधिकरणले १५ करोड रुपैयाँ हेलिप्याडका लागि र एक करोड रुपैयाँ टर्मिनल भवन निर्माणका लागि विनियोजन गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिप्याड हटाएर भक्तपुरको नलिचोकमा सार्ने योजनाअनुरुप बजेट छुट्याएको प्राधिकरणले जनाएको छ।
हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय, आन्तरिक र कार्गो उडान हुने गरेको छ।
यसअघि सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा रात्री पार्किङका लागि आधार तोकेको थियो।
जसअनुसार गत असार ७ गतेबाट ६ वटा हेलिकप्टर कम्पनीका १४ वटा हेलिकप्टर काठमाडौं बाहिर राति पार्किङका लागि पुग्छन्।
यी हेलिकप्टर पोखरा, नेपालगञ्ज, लुक्ला र सिमीकोट विमानस्थलका पार्किङमा पुगी र सोही विमानस्थलबाट पहिलो उडान गरिरहेका छन्।