हिमालय एयरलाइन्सले दुई वर्षे संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) रिपोर्ट सार्वजनिक गरेको छ।
एयरलाइन्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन् २०२०-२०२१ काे सिएसआर रिपोर्ट सार्वजनिक गरेको हो।
रिपोर्ट प्रस्तुत गर्दै एयरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले कम्पनीले कोरोना माहामारीको समयमा कोभिड विरुद्धको खोप निःशुल्क ल्याउनेदेखि स्वास्थ्य सामग्रीको कार्गो ढुवानी गरेर सरकारलाई सहयोग गरेको बताइन्।
'हामीले चीनले सहयोगमा दिएको दुई लाख थान भेरोसेल खोप निःशुल्क ढुवानी गरेको थियौं' कार्यक्रममा बोल्दै उनले भनिन्, 'उक्त निःशुल्क कार्गो चार्टर उडानमा दुई करोड २५ लाख रुपैयाँ बराबरको खर्च भएको थियो।'
विशेषगरी कोरोना महामारीले विश्व अर्थतन्त्र नै धराशयी बनेका बेला हिमालय एयरलाइन्सले आफ्नो सेवासँगै सिएसआर अन्तर्गतको सेवा यथावतै राख्न सफल भएको उनको भनाइ छ।
सिएसआर रिपोर्टअनुसार कम्पनीले शिक्षा, वातावरण, उद्धार उडान, कार्गो उडानलगायत क्षेत्रमा काम गरेको छ।
त्यस्तै, बालबालिकाको सपना साकार पार्न आफ्नो ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बालबालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको रिपोर्टमा उल्लेख छ।
एयरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले कोभिडकाे समयमा अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन गरेकाे बताए।
उनका अनुसार एयरलाइन्सले उक्त समयमा विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउनुका साथै विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ।
कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भएर काम गरेको समेत उनको भनाइ छ।
सन् २०१६ मे महिनादेखि एउटा जहाजमार्फत उडान सेवा सुरू गरेको कम्पनीका हाल चार वटा जहाज सञ्चालनमा छन्।
कम्पनीले हाल युएई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश, चीन, कुवेतलगायत गन्तव्यमा नियमित यात्रु तथा कार्गो उडान गर्दै आएको छ।