संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।
मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिँदै यात्रुहरूलाई सहज हुने गरी व्यवस्थापन चुस्तदुरुस्त राख्न निर्देशन दिएको सचिवालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको भन्दै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्तदुरुस्त बनाउन व्यवस्थापनलाई निर्देशन दिएका हुन्।
उनले विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै रनवे क्षेत्र पनि निरीक्षण गरेका थिए।
'विमानस्थलको समग्र सुधार र व्यवस्थापन प्राथमिकतामा छ। ७३ बुँदे कार्ययोजनामा समेत विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको काम समेटिएको छ,' उनले भने।
पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङ स्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सुधार भएको छ। विमानस्थलका अधिकारीले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी मन्त्रीलाई दिएका थिए।
विमानस्थलभित्रका पूर्वाधार निर्माण र यात्रुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती नगर्न र सुधारको अनुभूति हुने गरी काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएको सचिवालयले जनाएको छ।