हिमालय एअरलाइन्सले चीनको छिङदाओ (सिङ्ताओ) का लागि चार्टर्ड उडान गरेको छ।
एयरलाइन्सले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान गरेको हो।
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११:०७ बजे उडान गरेको थियो।
उक्त विमान छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान ७:५५ मा अवतरण गरेको छ।
छिङदाओको दुई दिने औपचारिक भ्रमणपछि भोलि (बिहीबार) अपरान्ह्र ३ बजे उक्त चार्टर्ड विमान काठमाडौंका लागि उड्ने एयरलाइन्सले जनाएको छ।
सन् २०२० मा फैलिएको कोभिड-१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो।
यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रूपमा एउटा उडानका साथ सेवा सुरू गरेको थियो।
काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको हो।