संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा आरोहण खुला गर्ने बताएका छन्।
आइतबार नेपाल पर्वतारोहण संघको ३२ औं साधरण सभालाई सम्बोधन गर्दै सरकारले पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताएका हुन्।
'कुन–कुन हिमालहरूमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरूमा आरोहण खुल्ला गर्दा पर्यटक आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभान्वित बनाउन सकिन्छ भन्ने बारे समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिइनेछ' मन्त्रि श्रेष्ठले भने।
यसका साथै पर्वतारोहण सम्बन्धी अन्योलमा रहेका ऐन, कानुन र नियमहरू तत्काल निराकरण गर्न सरकार तयार रहेको जानकारी दिए।
उनले सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताए।
एडभेञ्चर खुलकुद, पर्यटन वेस खेलकुद र माउण्टेन खेलकुदका रूपमा पर्वतहरूलाई आधार बनाएर खेलहरूको विकास गर्न सके नेपाल पर्यटक गन्तव्यको रूपमा विकास हुने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसँग सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताए।
साहसिक खेलहरू हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताउँदै अध्यक्ष शेर्पाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा छुट्टै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग राखे।