पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।
पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले काठमाडौंमा गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्।
बास्तोलाको एसियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटेल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । उनले एसियन हेरिटेज फाउन्डेसन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आएका हुन् ।
विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए । सोलुखुम्बु घर भएका उनले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् । बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्।