काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघको अध्यक्षमा नयाँ कार्यसमितिबाट शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन्।
संघले सोमबार वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ कार्य समितिको घोषणा गरेको हो।
समितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जयमान श्रेष्ठ रहेका छन्।
त्यस्तै, सदस्यहरूमा दिनेश सुवाल, किरण श्रेष्ठ, चिरनरत्न शाक्य, डिल्लीरत्न तुलाधर, मनिश मुलेपति र अभिनवदास श्रेष्ठ रहेका छन्।
२०६२ सालमा हनुमानढोका दरबार क्षेत्रको संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउँदै त्यसमार्फत स्थानीयको आर्थिक स्तर उकास्ने उद्देश्यले सो संघ स्थापना भएको हो।
अध्यक्ष बज्राचार्यले काठमाडौंको पर्यटक स्थल वसन्तपुर आउने पर्यटकले देखेका समस्याको समाधान, सुधार गर्नुपर्ने विषयको पहिचान तथा सम्बोधन गर्ने र स्थानीय नागरिकको सुझाव अनुसारका काम गर्ने बताए।
उनकाअनुसार संघले स्थानीयलाई उद्यमशीलता विकासमा जोड दिदैं होम स्टे, सुविधाजनक होटल, रेष्टुरा खोल्न चाहनेहरूलाई तालिम तथा प्रशिक्षण दिनेछ।
‘हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा घुम्न आउने पर्यटकहरूका लागि आवश्यक पूर्वाधार र वातावरण बनाउँदै स्थानीयलाई उद्यमशीलता विकासमा जोड दिनेछौं’ उनले भने।
संघले आफ्नो उद्देश्य र कार्य योजनाको विस्तृत जानकारी सम्बन्धित सरोकारवालासँग बृहत छलफल गरी छिट्टै नै सार्वजनिक गरिने उनको भनाइ छ।