आगामी शनिबार बागमती नदीमा 'बागमती रिभर फेस्टिभल' हुने भएको छ।
नेपाल नदी संरक्षण संस्था र नेपाल एशोसियसन अफ र्याफटिङ एजेन्सिज नाराको आयोजनामा उक्त जलयात्रा मेला हुन लागेको हो।
बिहीबार पत्रकार सम्मेलन गर्दै नाराका अधयक्ष शिव अधिकारीले आगामी शनिबार बिहान ७ बजे ललितपुरको कुपण्डोलबाट महाजल यात्रा सुरू हुने बताए।
‘ललितपुरको थापाथली पुलदेखि सुन्दरीघाटसम्म साढे पाँच किलोमिटर निःशुल्क र्याफटिङ गराउँछौं’ उनले भने।
अध्यक्ष अधिकारीकाअनुसार र्याफटिङका लागि १२ वटा र्याफटिङ र दुई कायक बाग्मतीमा चल्नेछन्।
'कोरोना बढिरहेका कारण हामीले डेढ सयको हाराहारीमा मात्र सहभागीता गर्ने गरी तयारी गरेका छौँ,' कार्यक्रममा बोल्दै उनले भने, 'विभिन्न कार्यक्रम र बागमती सफा गरेर जात्रा मनाउँछौं।'
हाल विभिन्न मुलुकहरूले कृत्रिम नदी बनाएर र्याफटिङ गराइरहेका छन्। 'हामीकहाँ सुन्दर नदीमा पनि ढल र फोहोर ल्याएर कुरूप बनाइरहेका छौँ,' उनले थपे, 'मेलाको उद्देश्य भनेको राज्यविरुद्धको विरोध अथवा नयाँ पुस्ताका लागि सचेत गराउनु हो।'
नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले सन् २००१ देखि हरेक वर्ष बागमती नदीमा महाजल जात्रा हुने गरेको छ।
कार्यक्रममा बोल्दै नदी संरक्षण संस्था अध्यक्ष मेघ आलेले नदी सफा र सुन्दर बनाउन सके प्राकृतिक सम्पदाहरूको संरक्षण हुने बताए।