इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरको उडान बन्द भएको छ।
इलाम नगरपालिकासँग भएको सम्झौताअनुसार ताराले गत वैशाखबाटै काठमाडौं–इलाम उडान बन्द गरेको जनाएको छ।
यती एयरको भगिनी संस्था तारा एयरले यो विमानस्थलमा २०७८ साल फागुन ११ गतेबाट उडान सुरू गरेको थियो।
सम्झौता अनुसार हरेक उडानमा ११ जना यात्रुको सिटको ग्यारेन्टी नगरपालिकाले दिएको थियो।
'कुल १८ सिट क्षमताको ट्वीनअटर जहाजमा हरेक उडानमा ११ वटा सिटभन्दा कम यात्रु भएमा जति कम हुन्छ त्यस बराबरको टिकट बापतको खर्च नगरपालिकाले भुक्तानी गर्ने गरी उडान सुरू गरिएको थियो' एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने।
'त्यतिबेला १२ वटा उडानका लागि नगरपालिकासँग सम्झौता भएको थियो' प्रवक्ता बर्तौलाले सेतोपाटीसँग भने, 'सम्झौताअनुसार हामीले उडान पूरा गरेरै बन्द गरेका हौं।'
गत वैशाख १९ गते उक्त एयरले १२ औं पटक काठमाडौं–इलाम–काठमाडौं उडान गरेको उनले बताए। सोही समयबाट ताराका नियमित इलाम उडान बन्द भएको छ।
काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको छ। ट्वीनअटर मात्र पुग्ने भएकाले यो गन्तव्यका लागि भाडा महँगो पर्छ।
'१२/१३ जनासम्म यात्रु भएनन् भने सञ्चालन खर्च पनि उठ्दैन' उनले भने, 'सधै घाटा भइरहँदा निजी क्षेत्र कसरी अघि बढ्न सक्छ र?'
आगामी दिनमा फेरि पनि इलाम नगरपालिकासँग सम्वन्य भएको खण्डमा ताराले पर्यटकीय गन्तव्यका रूपमा रहेको इलाममा उडान सुरू गर्ने बर्तौलाको भनाइ छ।
हाल इलाम नगरपालिका र एयरलाइन्सबीच उडान सम्बन्धी छलफल भइरहेको छ।
नगरपालिकाले आगामी दशैंबाट पुनः उडान गर्ने गरी एयरलाइन्ससँग पहल गरिरहेको उनले बताए। 'मनसुनपछि पुनः उडानका लागि हामी सकारात्मक छौं' उनले भने।