शरद ऋतुमा हिमाल चढ्नका लागि पर्यटकहरूले आरोहण अनुमति लिन थालेका छन्।
पर्यटन विभागकाअनुसार आइतबारसम्म तीन वटा हिमाल चढ्न ४२ जनाले अनुमति लिएका छन्।
यसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट आठ पुरूष र दुई जना महिला गरी १० जनाले अनुमति लिएका छन्। त्यस्तै अमेरिकाबाट ७ जना, जर्मनीबाट तीन जना, स्वीडेनबाट तीन जना रहेका छन्।
विभागले मनास्लु (८१६३ मि.), हिमलुङ हिमाल (७१२६ मि.) र सारिबुङ हिमाल (६३४६ मि.) चढ्न अनुमति खुला गरेको छ।
शरद ऋतुमा मनास्लु हिमाल धेरै पर्यटकको रोजाइमा पर्छ। यसपाली आरोहण अनुमति सुरू भएलगत्तै मनास्लु चढ्न सबैभन्दा धेरै पर्यटकले अनुमति लिएका छन्।
विभागकाअनुसार आइतबारसम्म ३८ जनाले मनास्लु हिमाल चढ्नका लागि अनुमति लिएका छन्।
त्यस्तै तीन जनाले हिमलुङ हिमाल र सारिबुङ हिमाल चढ्नका लागि एक जनाले अनुमति लिएका छन्। यसबाट विभागले १३ लाख ७३ हजार २४२ रुपैयाँ रोयल्टी संकलन गरेको छ।