संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने योजना अघि बढाएका छन्।
काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरू गर्नेबारे मन्त्री श्रेष्ठले बुधबार सरोकारवालाहरूसँग छलफल समेत गरे।
रात्रिकालीन सम्पदायात्राले पर्यटकहरूको आगमन वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने बताउँदै उनले कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने बताए।
'रात्रिकालीन सम्पदा-यात्राले उपत्यकाका मठमन्दिर, जात्रा-पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन्,' उनले भने।
यसअघि मन्त्री श्रेष्ठले ल्याएकाे पर्यटन पुनरूत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने विषय उल्लेख गरिएको छ।
पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्ती तथा सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदा-यात्रा सञ्चालन गर्ने तयारी छ।
ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक र मनमोहक हुने पर्यटन व्यवसायीहरूको भनाइ छ।
छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ-संस्थाका प्रतिनिधि सहभागी थिए।