हंगेरीको वीज एयरले नयाँ गन्तव्यका लागि पाँचवटा विमान थपेको छ।
वीजले आधिकारिक वेबसाइट मार्फत यस्तो जानकारी दिएको हो।
सार्वजनिक सूचनाअनुसार नयाँ एयरबस 'ए३२१ नियो' ले आगामी डिसेम्बर २२ बाट नयाँ तीन गन्तव्यमा उडान गर्नेछन्। यसका लागि वीजले शुक्रबार नै उडान तालिका सार्वजनिक गरेको छ।
उक्त एयरबसले अष्ट्रियाको राजधानी भियनाबाट पोर्चुगलको मडेइरा, साउदी अरेबियाको रियाद र जेद्दामा उडान गर्नेछ।
'आज हाम्रो भियनाबाट पाँचौं विमान थपिएको घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं' भियनामा भएको पत्रकार सम्मेलनमा विज एयरका अध्यक्ष रोबर्ट केरीले भने, 'आगामी दिनमा वीजले आफ्नो नेटवर्क विस्तार गर्दै जानेछ।'
वीजले हाल ५२ देशहरूमा १९० भन्दा बढी गन्तव्यमा उडान गरिरहेको छ। अष्ट्रियाको राजधानी भियनाबाट वीजले हाल २४ देशहरूका ३७ वटा गन्तव्यमा उडान गरिरहेको छ। उडान तालिकामा तीन नयाँ गन्तव्य थपिएसँगै अष्ट्रियाबाट ४० गन्तव्य पुग्नेछ।
वीजले आगामी अक्टोबरबाट नेपालमा पहिलो पटक उडान गर्दैछ।
संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावीबाट आगामी कार्तिक १४ (अक्टोबर ३० तारिख) बाट उडान गर्न लागेको हो।
वीजले आवुधावी–भैरहवा–आवुधावी सातामा तीन उडान गर्ने तयारी गरेको छ।