काठमाडौं विमानस्थलबाट दैनिक एकभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरिरहेका एयरलाइन्सले अब भैरहवा विमानस्थलबाट पनि उडान गर्नुपर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा एकभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले आगामी अक्टोबरपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अनिवार्य उडान गर्न भनेको हो।
यसका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूलाई पत्राचार गरिसकिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
उनका अनुसार आगामी अक्टोबर ३० बाट सन् २०२३ मार्च सम्मको उडान तालिका (विन्टर सेड्युल) मा भैरहवाबाट पनि अनिवार्य उडान राख्न प्राधिकरणले पत्र पठाइसकेको छ।
'सबै एयरलाइन्सलाई भैरहवाबाट पनि दैनिक कम्तीमा एउटा उडान राख्न पत्र पठाएका छौं,' उनले भने, 'वायुसेवा कम्पनीहरू सकारात्मक छन्।'
हाल गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरवेजले मात्र उडान गरिरहेको छ। प्राधिकरणले तोकेअनुसार सुरूआती चरणमा अक्टोबरपछि पाँच वटा एयरलाइन्स थपिने छन्। त्यसपछि भैरहवा विमानस्थलबाट ६ एयरलाइन्सले उडान भर्नेछन्।
प्राधिकरणको निर्देशनअनुसार भैरहवा जाने पाँच एयरलाइन्समध्ये दुईटा राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय कम्पनी हुन्। हाल एयर अरेबिया, कतार एयरवेज, फ्लाइ दुबइ, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले काठमाडौं विमानस्थलमा दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।
सूचना अधिकारी भुलका अनुसार काठमाडौंबाट नौ वटा गन्तव्यमा उडान गरिरहेको हिमालय एयरलाइन्स र दस गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट सबभन्दा पहिले उडान सुरू गर्नेछन्।
हिमालयले भैरहवाबाट शाउदीको दमान रियादसम्म उडान गर्नेछ। नेपाल एयरलाइन्सले भने भैरहवाबाट दुबइ हुँदै कतारको दोहासम्म उडान गर्नेछ।
'सबभन्दा पहिले नेपाल एयरलाइन्स र हिमालयलाई उडान सुरू गर्न ताकेता गरिएको छ,' भुलले भने, 'दुवैले विन्टर सिजनबाट सुरू गर्छौं भनेका छन्।'
यी दुईको उडान सुरू भएसँगै अन्तर्राष्ट्रिय एयरलाइन्स एयर अरेबिया, फ्लाइ दुबइ, कतार एयरवेजले पनि भैरहवाबाट उडान थाल्नेछन्। त्यसपछि बिस्तारै दैनिक एकभन्दा बढी उडान गर्ने अरू एयरलाइन्सलाई पनि प्राधिकरणले भैरहवामा उडान थाल्न सूचना पठाइसकेकाे छ।
'गौतमबुद्ध विमानस्थल सञ्चालनपछि पनि सबै वायुसेवा काठमाडौंमा सीमित भएर हुँदैन,' उनले सेतोपाटीसँग भने, 'भैरहवा जान नचाहनेलाई काठमाडौंबाट पनि अनुमति दिँदैनौं भन्ने तरिकाले पत्राचार गरिसकेका छौं।'
प्राधिकरणले भैरहवा विमानस्ठलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायत शुल्कमा एक वर्षसम्म छुट दिइएको हो।
'भैरहवा विमानस्थलमा धेरैभन्दा धेरै वायुसेवा कम्पनी लैजाने हाम्रो लक्ष्य हो,' सूचना अधिकारी भुलले थपे, 'यसका लागि प्राधिकरणले विभिन्न शीर्षकमा छुट दिएको छ।'
सरकारले गौतमबुद्ध विमानस्थललाई चलायमान बनाउन विभिन्न प्याकेज ल्याए पनि सञ्चालनमा आएको चार महिनासम्म एउटै एयरलाइन्सले मात्र उडान गरिरहेको छ। गत जेठ २ गतेबाट सुरू भएको विमानस्थलमा हालसम्म जजिरा एयरवेजले मात्र उडान गरिरहेको छ।
वार्षिक हजारौं पर्यटक लुम्बिनी घुम्न पुग्छन्। उनीहरू काठमाडौं विमानस्थलमा अवतरणपछि आन्तरिक हवाइ उडानमार्फत लुम्बिनी पुग्छन्। विमानस्थलका तत्कालीन प्रवक्ता श्यामकिशोर शाहले गौतमबुद्ध विमानस्थल सञ्चालनपछि सिधा उडान हुने मुलुकका पर्यटक सिधै भैरहवा अवतरण गर्न सक्ने बताउँछन्। तर सुविधा नभएकै कारण यसमा बाधा भइरहेको छ।
विमानस्थल सञ्चालनमा आए पनि थप पूर्वाधार विकास हुन नसकेकाले समस्या सिर्जना भइरहेको शाह बताउँछन्। उनका अनुसार स्थानीय स्तरमा सडक र यातायातको सहज सुविधा छैन। विमानस्थल पुग्न कठिन छ। त्यस्तै अन्तर्राष्ट्रिय उडान हुने ठाउँमा रात्रिकालीन होटल-लजको सुविधा पनि छैन।
विमानस्थल सञ्चालन र यात्रु बढाउन सम्बन्धित सबै निकायले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
'विमानस्थलमा कति जहाज आऊलान् भनेर कुरेर बसेर हुँदैन। कसरी जहाज बढाउने भन्नेमा सबैले ध्यान दिनुपर्छ,' उनले भने, 'भैरहवा विमानस्थलबाट लुम्बिनी-बुटवल आवतजावत गर्ने यातायात सुविधा राम्रो छैन। यी पूर्वाधार विकास हुन आवश्यक छ।'
यसका लागि प्रदेश र स्थानीय सरकारका साथै पर्यटन व्यवसायीले हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।