वायुसेवा सञ्चालक संघले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व छ वटा समस्या समाधान हुनुपर्ने बताएको छ।
संघले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त समस्याहरू तत्काल समाधान नभए उडान सम्भव नभएको भन्दै नागरिक उड्डयन प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो।
संघका अध्यक्ष क्यापटेन रामेश्व थापाले जारी गरेको विज्ञप्तीअनुसार विमानस्थल सञ्चालनमा ल्याउनु पूर्व आवश्यक भौतिक पूर्वाधार सम्पन्न भएपछि मात्र संघका सदस्य वायुसेवा कम्पनीले उडान गर्नेछन्।
विज्ञप्तीको पहिलो नम्बरमा संघले ल्यान्डफिल्ड साइट सार्ने तथा चराचुरुंगी नियन्त्रणसम्बन्धी प्रश्न उठाएको छ।
निर्माणाधीन विमानस्थल नजिकै ल्यान्डफिल साइट रहेका कारण विमानस्थलमा ठूला चरा, गिद्धदेखि साना चराहरू विमानस्थल वरिपरि बसिरहने हुँदा उडान सञ्चालनमा समस्या उत्पन्न हुनेछ।
चराका गतिविधिका कारण ठूलो दुर्घटना हुनसक्ने भएकाले विमानस्थल सञ्चालनमा आउनुअघि नै ल्यान्डफिल्ड साइट स्थानान्तरण गरी चराचरुंगी नियन्त्रणसम्बन्धी ठोस व्यवस्था गर्नुपर्ने संघले बताएको छ।
पोखरा विमानस्थलमा हालसम्म हेलिकोप्टर पार्किङका लागि कुनै ठाउँ निश्चित नगरिएकाले पार्किङको उचित व्यवस्था हुनुपर्ने, हवाई इन्धन पूर्वाधार नै नभएकाले आयल निगमसँग आवश्यक समन्वय गरी सञ्चालन पूर्व नै उचित व्यवस्था हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ।
त्यस्तै जहाजका 'ग्राउन्ड इक्विपमेन्ट', भर्याङलगायत राख्ने ठाउँ नभएकाले विद्युतीय सुविधासहितको व्यवस्था हुनुपर्ने संघको माग छ।
त्यसैगरी 'लाइन मेन्टेनेन्स' का लागि अफिस कोठाको व्यवस्था नभएकाले तत्कालै उपलब्ध गराउनुपर्ने र दुवै धावनमार्गको अन्तिम बिन्दु (रनवे इन्ड) सम्म 'प्यारालल ट्याक्सी वे' को व्यवस्था हुनुपर्ने माग पनि संघले अघि सारेको छ।
विमानस्थलमा हाल निर्माणाधीन संरचनाअनुसार 'रनवे १२' तिर मात्र प्यारालाल ट्याक्सी वे र अन्य दुईवटा लिंक ट्याक्सी वेको व्यवस्था छ।
जसले गर्दा 'रनवे ३०' मा पुग्न धावनमार्गबाटै जहाज जानुपर्ने अवस्था भएकाले 'रनवे अकुपेन्सी टाइम' बढी हुने र उडान ढिलो हुनसक्ने सम्भावना छ।
यसकारण रनवे ३० सम्म पनि प्यारालाल ट्याक्सी वेको आवश्यक व्यवस्था गरिनुपर्ने संघको माग छ।