संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासको लागि सरकारले 'पर्यटन दशक २०२३–२०३२' को अवधारणा अगाडि ल्याएको बताएका छन्।
नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरूसँग आइतबार आयोजना गरिएको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड–१९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न यो अवधारणा अघि सारिएको उनको भनाइ छ।
पर्यटन विकासको लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजिकरणको काम गर्ने बताउँदै यसको समग्र विकासको लागि भने निजी क्षेत्र अग्रसर हुनु पर्ने उनको धारणा छ।
यस्तै उनले नेपाललाई युरोपियन युनियनको सेफ्टिलिस्टबाट ‘कालो सूची’ हटाउन मन्त्रालयले पहल गरिरहेको र यसबारे छिट्टै सकारात्मक नतिजा आउनेमा आफू आशावादी रहेको समेत बताए।
कार्यक्रममा पर्यटन दशकको अवधारणा पत्र प्रस्तुत गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालले दीगो रूपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकोले यसबाट लाभ लिन यो अवधारणा अगाडि बढाइएको जानकारी दिए।
उनले सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको बताए।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडपछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक आपसमा समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट लाभ लिन सक्ने रेग्मीले बताए।
पर्यटन क्षेत्रका छाता संस्था, वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता थियो।
निजी क्षेत्रका प्रतिनिधीहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताको लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए।
वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन दशकभन्दा पर्यटन विकासको लागि दशकको अवधारणा उपंयुक्त हुने र भ्रमण वर्ष छोटो समयको राख्दा उपयुक्त हुने सुझाव दिए।
यस्तै होटल एशोसिएसन हानका अध्यक्ष सिर्जना राणा र वरिष्ठ पर्यटन व्यवसायी विजय अमात्यले भ्रमण दशकको कार्ययोजना ल्याउन मन्त्रालयलाई सुझाव दिए।