वायुसेवा सञ्चालक संघले काठमाडौं बाहिरका विमानस्थलमा पर्याप्त हवाइ इन्धन उपलब्ध गराउन माग गरेका छन्।
संघले इन्धन सहज उपलब्ध नहुँदा हवाइ उडानमा बाधा पुगेको भन्दै सहजताका लागि सोमबार नागरिक उड्डयन प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो।
चाडपर्व नजिकिएसँगै हवाइ यात्रु बढिरहेका बेला काठमाडौं बाहिरका विमानस्थलमा इन्धन भर्न नपाएपछि अवस्था सहजीकरण गरिदिन संघले प्राधिकरणलाई अनुरोध गरेको हो।
'नेपाल आयल निगमले काठमाडौंबाहेक बाहिरी विमानस्थलहरूमा पर्याप्त मात्रामा हवाइ इन्धन उपलब्ध नगराएका कारण सदस्य वायुसेवा कम्पनीहरूका उडानहरुमा असर परेको छ। यसबाट हवाइ सेवामार्फत आवतजावत गर्नेहरू सेवाबाट बञ्चित हुनुपर्ने अवस्थाप्रति ध्यानाकर्षण गराएका छौं,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
इन्धन सहज नभए उडान नै बन्द गर्नुपर्ने अवस्था आउने समेत वायुसेवा सञ्चालक संघले विज्ञप्तिमा उल्लेख गरेको छ।