सोल्टी ब्रान्डका थप चार वटा होटल खुल्ने भएका छन्। सोल्टी ग्रुपले काठमाडौंसहित बाहिर जिल्लामा नयाँ होटल खोल्ने भएको हो। हस्पिटालिटी व्यवसायलाई विस्तार गर्ने उद्देश्यले ग्रुपले होटल खोल्न लागेको ग्रुपका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए।
उनका अनुसार काठमाडौंको गौशाला, चितवन, इटहरी र पोखरामा सोल्टी ब्रान्डका होटल खोलिने भएको हो। यीमध्ये पोखरा र गौशालामा ग्रुपको आफ्नै लगानी हुनेछ भने चितवन र इटहरीमा अरूकै लगानी हुनेछ। तर यहाँको व्यवस्थापन सोल्टीकै हुनेछ।
ग्रुपको आफ्नै लगानीमा सोल्टीमोडस्थित सोल्टी होटल र नेपालगञ्जस्थित सोल्टी वेस्टइन्ड प्रिमियर पाँचतारे होटल सञ्चालनमा छ।
'सोल्टी पहिलो लिड सर्टिफाइड होटल हो। यसले लिड सर्टिफाइड फ्रम युएस ग्रीन बिल्डिङ काउन्सिलबाट सर्टिफिकेट पाएको छ,' उपाध्यक्ष चापागाईंले भने।
पछिल्लो समय यो ग्रुप व्यवस्थापन मोडलमा काम गर्ने योजना अनुरूप अघि बढेको उनी बताउँछन्। अरू कसैको स्वमित्व भएको होटलमा व्यवस्थापन गर्ने र ब्रान्ड दिने मोडललाई व्यवस्थापन मोडल भनिन्छ।
'हाम्रो व्यवस्थापनमा विज्ञ नै हौं। त्यसैले व्यवस्थापन मोडललाई जोड दिएका हौं,' उनले भने, 'होटलको कमी छैन, धेरै आइरहेको छ। त्यसको व्यवस्थापनमा हामी काम गर्छौं।'
सातै प्रदेशमा सोल्टी ब्रान्डका होटल खोल्ने अवधारणामा समूह अघि बढेको उनले बताए। इटहरीमा खुल्ने होटलको नाम 'सोल्टी वेस्टइन्ड' हुनेछ। यो दसैंपछि सञ्चालनमा आउने छ। त्यसैगरी चितवनमा खुल्ने होटलको नाम 'सोल्टी वेस्टइन्ड रिसोर्ट' हुनेछ। यो पनि दसैंअघि नै सञ्चालनमा आउने छ।
'हामीले कर्मचारी लिइसकेका छौं। प्रि-ओपनिङ टिम पनि पुगिसकेको छ,' उनले भने, ‘अक्टोबरको सुरूमै सञ्चालन गर्छौं।'
व्यवस्थापन मोडलमा होटल सञ्चालन गर्न अन्य ठाउँबाट पनि प्रस्ताव आइरहेको उनले जानकारी दिए। ग्रुपको मापदण्डअनुसार मिल्ने भए अन्य होटल व्यवस्थापनका लागि पनि प्रक्रिया अघि बढाइनेछ।
'हामी बजार अनुसन्धान गर्छौं। क्वालिफाइड हुन्छ कि हुँदैन, मापदण्ड पुग्छ कि पुग्दैन, हाम्रो ब्रान्डसँग मेल खान्छ कि हुँदैन भन्ने लगायत सबै अध्ययन गरेर अघि बढ्छौं,' चापागाईंले भने।
सोल्टी समूहले आफ्नो लगानीमा पोखरामा रिसोर्ट र गौशालामा तीन वा चारतारे सिटी होटल बनाउने योजना बनाएको हो। पोखरामा एक अर्ब लगानीमा ८२ वटा कोठाको रिसोर्ट र गौशालामा ५० करोड लगानीमा ६० देखि ७० कोठाको होटल बन्नेछ।
'अहिले अवधारणाकै चरणमा छौं,' उनले भने, ‘दुवै ठाउँमा छ महिनापछि काम सुरू गर्छौं।'
ग्रुपले पोखरा र भैरहवा विमानस्थलमा फ्लाइट-क्याटरिङ पनि सुरू गर्ने भएको छ। यो भनेको विमानहरूमा खानपिन सुविधाको व्यवस्थापन गर्ने हो। फ्लाइट-क्याटरिङ सञ्चालनका लागि लाइसेन्स प्राप्त भइसकेको सोल्टी समूहका उपाध्यक्ष चापागाईंले जानकारी दिए।
'फ्लाइट सुरू भयो र खानाको माग आयो भने हामी तुरून्तै युनिट राख्छौं। त्यसका लागि हाम्रो आफ्नो भवन भने छैन। हामीले एयरपोर्टभित्रै ठाउँ मागेका छौं,' उनले भने।
विमानस्थलमा फ्लाइट क्याटरिङको माग बढ्यो भने लगानी बढाउने उनले बताए।