नेपाल पर्यटन बोर्डमा थाइल्याण्डकी हात्ती संरक्षणविद् तथा सेभ द इेलिफेन्ट फाउण्डेशनकी संस्थापक सायंजिवेन लेक चेलेटसँग हात्ती संरक्षण तथा संरक्षणवादी पर्यटनका विषयमा छलफल भएको छ।
कार्यक्रममा लेकले थाइल्याडमा हात्ती सरंक्षणका क्षेत्रमा भएको कार्यको बारेमा जानकारी दिइन्।
उनले पर्यटनमा हात्तीको प्रयोग यसबाट उनीहरूमा पर्न जाने असर तथा त्यसको संरक्षणसहित कसरी पर्यटनलाई अगाडि बढाउन सकिन्छ भन्ने बारेमा आफ्नो अनुभव सुनाइन्।
लेकले दक्षिण एशियामा हात्तीहरूको जीवन सुधार गर्न र तिनीहरूको कल्याणलाई अगाडि बढाउन दुई दशकभन्दा बढी समयदेखि काम गरिरहेकाले संरक्षणविद्का रूपमा विभिन्न सम्मान समेत प्राप्त गरेकी छिन्।
उनले नेपालमा समेत पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उल्लेख गर्दै पर्यटन बोर्डको माध्यमबाट हात्तीको प्रयोगका विषयमा जनचेतना अभिवृद्धि र हात्तीको प्रयोगलाई निरुत्साहित गर्न आग्रह गरिन्।
कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे लेकले संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रसंशा गर्दै उनको अनुभवबाट नेपालले पनि धेरै सिक्न सक्ने बताइन्।
निर्देशक थापाले नेपाल नेचर, कल्चर तथा एडभेन्चरमा आधारित पर्यटकीय गन्त्वय भएको र नेपालमा समेत पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उल्लेख गर्दै संरक्षण सहितको पर्यटनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गर्दै अगाडि बढ्न सकिने बताएकी छिन्।
बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले लेकको अनुभवबाट संरक्षणवादी पर्यटनमा धेरै कुरा सिक्न सकिने उल्लेख गर्दै उनको संस्थासँग सहकार्य गर्दै पर्यटनलाई जोड दिन सकिने धारणा राखिन्।