हवाइ क्षेत्रबारे अडिट गर्न दशैंपछि युरोपेली युनियन (इयू) को टोली नेपाल आउने भएको छ। नागरिक उड्डयन
प्राधिकरणकाअनुसार उक्त टोली आठ वर्षपछि नेपाल आउन लागेको हो।
यसअघि सन् २०१३ मा अडिटकै लागि नेपाल आएको थियो।
उक्त प्राविधिक टोलीले पाँच दिनसम्म अडिट गर्ने प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
उनकाअनुसार टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गर्नेछ।
यससँगै हवाइ क्षेत्रलाई निरन्तर कालो सूचीमा राखेको इयूले नेपाललाई सूचीबाट हटाउने संकेत देखिएको उनले बताए।
'आइकाओको रिपोर्टमा हामी ग्लोबल एभरेजभन्दा माथि छौं। त्यसकारण इयूको यो टोलीको अडिटपछि कालो सूचीबाट हटेर नेपाली वायुसेवा कम्पनीले युरोपमा उडान गर्न पाउनेछ' उनले भने।
नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले डिसेम्बर २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो।
यसअघि आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ।
आइकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अंक पाएको थियो। आइकाओको टिमले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्यांकन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो।
आइकाओले नेपालको हवाइ क्षेत्र सुरक्षित रहेको बताए पनि इयूले कालो सूचीबाट नेपाललाई हटाएको छैन।
त्यस्तै, प्राधिकरणले पनि पटक–पटक नेपाललाई कालो सूचीबाट हटाउन माग गर्दै आएको छ।