नेपालको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले हवाई यात्रामा २४ वर्ष पुरा गरेको छ।
तत्कालीन हवाई विभागबाट १९९८ मे महिनामा व्यवसायीक उडानको अनुमति पाएको भए पनि २१ सेप्टेम्बर, १९९८ मा पहिलो उडान गरेको थियो।
यती उक्त दिनलाई आधार मानेर हरेक वर्षको सेप्टेम्बर २१ लाई आफ्नो वार्षिक उत्सवको रूपमा मनाउँदै आएको छ।
२ वटा ट्विनअटर विमानबाट हवाई सेवामा प्रवेश गरेको यतीले आफ्नो २४ वर्षे इतिहासमा नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडाएको अनुभव छ।
डिएचसी-६ ३०० ट्विनअटर, डोर्निअर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०, साब-३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६ ४०० ट्विनअटर तथा एटिआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ।
७३० जना कर्मचारी कार्यरत यती एयरमा हवाई सेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
यस एयरलाइन्सबाट उत्पादित प्राविधिक, चालक दल तथा अन्य कर्मचारी हाल विभिन्न एयरलाइन्समा कार्यरत रहेको बर्तौलाले बताए।
'यतीको २४ वर्षे यात्रा लगनशील तथा इमान्दार कर्मचारी र लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो', उनले भने, 'यसमा हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ।'
कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जहाजको संख्या बढेसँगै यात्रु पनि बढेको बताए।
दुई वर्षअघि जहाज धेरै भए पनि सिट संख्या कम थियो। अहिले ठूला जहाज मात्र हुँदा सिट संख्या वृद्धि भएको बर्तौलाले जानकारी दिए। अर्को वर्ष थप एउटा एटीआर-७२ ल्याएर यात्रु संख्या १५ लाख पुर्याउने लक्ष्य रहेको उनले बताए।
यो अवधिमा १५ हजार नौ सय २५ वटा उडान भएको उनले बताए। बर्तौलाका अनुसार तीमध्ये २७ हजार छ सय ६३ जना विदेशी यात्रुले यात्रा गरेका थिए।
उनका अनुसार एक वर्षको अवधिमा कम्पनीले एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको छ। कम्पनीले छिट्टै सिआइपी 'कमर्सियल इम्पोर्टेन्ट पर्सन' का लागि टिआइएको डिपार्चर हलमा लाउन्ज सुविधा दिने उनले बताए।
त्यस्ता यात्रुले पूरै भाडा तिर्नेले यो सेवा पाउनेछन्। कम्पनीले पोखरा र भैरहवामा यो सेवा दिने तयारी गरेको छ। कम्पनीले पाँचवटा एटीआर-७२ सिरीजको जहाजमार्फत पोखरा, भरतपुर, विराटनगर, भद्रपुर लगायत मुलुकको विभिन्न सुगम गन्तब्यमा नियमित उडान गर्दै आएको छ।
हाल यतीसँग ६ वटा एटिआर विमान रहेका छन्। यसै वर्ष अर्को विमान थप्ने योजना रहेको कम्पनीले जनाएको छ।
यती अन्तर्गतको भगिनी कम्पनी तारा एयरले भने तीनवटा ट्विनअटर जहाजमार्फत मुलुकको विकट गन्तब्यमा उडान सेवा दिँदै आएको छ।
ताराले रारा, जुम्ला, सिमिकोट, बाजुरा, जोमसोम, लुक्ला लगायत पहाडी र हिमाली गन्तब्यमा उडान गर्दै आएको छ।