पर्यटन तथा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठ बिहीबार दाङको टरिगाउँ विमानस्थल आउने भएका छन्।
टरिगाउँ विमानस्थलको विकास र स्तरबृद्धिका बारेमा सत्यतथ्य बताउन उनी एयरपोर्ट आउन लागेका हुन्।
बुधबार तुलसीपर उपमहानगरपालिकामा टरिगाउँ विमानस्थलका बारेमा बृहत छलफल भएको थियो।
त्यो खबर सार्वजनिक भएलगत्तै पर्यटनमन्त्री लगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले आफूहरू ट्विनअटर विमान चढेर टरिगाउँ विमानस्थलमा आउन लागेको सूचना आफूलाई दिएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता बिमल रिजालले जानकारी दिए।
त्यसको पुष्टि गर्दै स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीका स्वकीय अमित शर्माले पर्यटनमन्त्रीसहित सहरी विकासमन्त्री तथा स्वास्थ्य राज्यमन्त्री टरिगाउँ विमानस्थल आउने कार्यतालिका निश्चित भएको सेतोपाटीलाई बताए।
शर्माले दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद तथा स्वास्थ्य राज्यमन्त्री केसीको पहलमा दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद तथा सहरी विकासमन्त्री मेटमणि चौधरीसमेत टरिगाउँ विमानस्थलमा आउने कार्यतालिका निर्धारण भएको सेतोपाटीलाई बताए।
टरिगाउँ विमानस्थलमा नियमित हवाइ उडानका सन्दर्भमा स्थलगत निरीक्षण तथा अनुगमन गर्न मन्त्री तथा राज्यमन्त्री आउन लागेको शर्माले बताए।
बिहीबार बिहान पौने १० बजे उनीहरू टरिगाउँमा अवतरण गर्ने र त्यहाँ पत्रकार सम्मेलन गर्ने कार्यतालिका रहेको शर्माले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले पनि त्यही सूचना दिएको छ।
निर्वाचनको समयमा भइरहेको विमानस्थलको धावनमार्ग विस्तारलाई सर्वसाधारणले भने सदाझैं भोट राजनीतिका रूपमा अर्थ्याउँदै आएका छन्।
सम्बन्धित समाचारः भोलिदेखि आफैं डोजर लिएर विमानस्थल विस्तार गर्न जान्छु– उपमेयर चौधरी