होटल संघले अर्धवार्षिक साधारणसभाको अवसरमा 'नेपालः ए जोर्नी फ्रम इस्ट टु वेस्ट' नामको पुस्तक विमोचन गरेको छ।
शनिबार काठमाडौंमा साधारणसभा गर्दै संघले उक्त पुस्तक विमोचन गरेको हो। संघले प्रकाशनमा ल्याएको कफिटेबुल बुक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उठ्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको पर्यटन दशकलाई उक्त पुस्तक सहयोगी हुने बताए।
होटल संघका अध्यक्ष सृजना राणाले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उद्योगको ठूलो योगदान रहेको बताउँदै होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा कानुनमा नै व्यवस्था हुन आग्रह गरिन्। कार्यक्रममा उनले प्रकाशित पुस्तकले पर्यटकहरूलाई नेपाल घुम्न सहज हुने बताइन्।
होटल संघ प्रथम उपाध्यक्ष विनायक शाहले पुस्तकका बारेमा संक्षिप्त जानकारी गराउँदै समग्र मुलुकको गन्तव्य, खाना, आयुर्वेद जस्ता महत्वपूर्ण विषयहरूमा आफ्ना धारणा राखे।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले कोभिडका समयमा होटल उद्योगको संरक्षणका लागि एकीकृत सम्पत्ति कर मा भारी छुट दिइएको बताउँदै यस आर्थिक वर्षका लागि ४० प्रतिशत र समयसीमामा कर बुझाएमा अर्को १० प्रतिशत गरी ५० प्रतिशत सम्पत्ति कर छुट दिएको बताए।
सोही दिन विनस्टल्क एशियासँगको सहकार्यमा आयोजना गरिएको नेपाल हस्पिटालिटी कन्क्लेभ २०२२ को समुद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रष्ठले यस किसिमको कन्क्लेभले भोलिका दिनमा अगाडि बढ्न सहयोग पुग्ने बताए।
होटल संघले दिएका सुझावहरूप्रति नेपाल सरकार सकारात्मक रहेको र मुलुकको पर्यटन उद्योगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको उनको भनाइ थियो।
संघका महासचिव साजन शाक्यले अहिलेकै अवस्थामा मुलुकले ५० लाख पर्यटक धान्न सक्ने बताउँदै मुलुकमा पर्यटक आगमनलाई आँकलन गरी पर्यटन गतिविधिहरू सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे।