मंगलबार रूपन्देहीको बेलहिया नाका हुँदै आएका पहिलो पाँच जना पर्यटकहरूलाई भव्य स्वागत गरिएको छ।
विश्व पर्यटन दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाणले सुनौलीबाट नेपाल भित्रिने पहिलो पाँच जना विदेशी पर्यटकलाई ढाका टोपी, खादा र माला लगाउनुका साथै बुद्धमूर्ति दिएर स्वागत गरेका हुन्।
मंगलबार बेलहियाबाट सबभन्दा पहिले नेपाल भित्रिएका इजरायलका म्याक, क्यानडाका आरोन, चीनकी जु, भारत दिल्लीका लाला राम र केरलाका राकेश कुमार कच्छलाई गृहमन्त्री खाणले स्वागत गरेका हुन्।
नेपाल प्रवेश गर्ने नाकामै सयपत्री फूलको माला र ढाका टोपीसँगै ढाकाकै खादा लगाएर स्वागत गर्दा चार वटै मुलुकका पर्यटक खुसी देखिन्थे।
नेपाल पर्यटनको लागि खुला रहेको र पर्यटकको स्वागत गर्न नेपाल आतुर रहेको सन्देश दिन ‘पर्यटनमा पुनर्विचार’ भन्ने नारासहित सीमानाकामै पुगेर पर्यटकहरूलाई स्वागत गरी विश्व पर्यटन दिवस मनाइएको हो।
पर्यटन दिवसको अवसर पारेर सिद्धार्थ होटल संघले भैरहवा तथा यस आसपासका सबै होटलले नेपाली तथा भारतीय पर्यटकलाई २० प्रतिशत छुटको घोषणा गरेका छन्।
होटलमा उपलब्ध कोठा, खानामा यो छुट प्रदान गरिएको सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए।
यस्तै, मंगलबार स्वागत गरिएका ५ जना पर्यटकको एकदिनको खाना तथा होटल व्यवस्थापनसँगै उनीहरूको गन्तव्यसम्म पर्यटन दिवस मूल समारोह समितिले नै पुर्याउने श्रेष्ठले बताए।
नेपाल भ्रमणका लागि आउँदा सीमानाकामै स्वागत र सम्मान गरेकोप्रति उनीहरू खुसी देखिन्थे। भारत केरलाका राकेश कुमार कच्छले पाहुनाहरूलाई स्वागत गर्ने नेपालीहरूको शैली, भेषभूषा र संस्कृतिले आकर्षित गरेको बताए।
सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल आउने भारतीय पर्यटकलाई पनि अन्य पर्यटकझैं सम्मान गर्नुपर्ने बताए।
खाणले नेपालका सम्पदाहरूको रक्षा र त्यसको उपयोगको साथै पर्यटन व्यवसायको प्रवर्द्धन नेपाललाई समृद्ध बनाउने आधारशिला भएको बताए। उनले सरकार नेपालका पर्यटन विकासमा संवेदनशील भएको बताए।