दसैं नेपालीहरूका लागि पर्व मात्रै होइन, घुमफिर गर्ने मौसम पनि हो। पछिल्ला केही वर्षमा दसैं छेको पारेर घुम्न जाने चलन बढेको छ। गर्मी कम हुँदै जाने र चिसो पनि धेरै नहुने भएकाले यो मौसममा ट्रेकिङ जानेहरू झन् धेरै हुन्छन्।
तपाईंहरू पनि कहीँ जान मन गर्दै हुनुहुन्छ तर कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ? कसरी जाने, कति खर्च लाग्ला भन्ने पनि भएको होला।
यस्तै सोच्दै हुनुहुन्छ र तपाईं काठमाडौं उपत्यकामा बस्नुहुन्छ भने यहाँ उल्लिखित गन्तव्य उपयुक्त हुन सक्छ। हामीले विभिन्न पर्यटन व्यवसायीहरूसँग कुराकानी गरेर यो लेख तयार पारेका हौं। यहाँ उल्लिखित समय र खर्च भने अत्यावश्यक र सहज यात्राका लागि मात्र हो।
यहाँ प्राकृतिक दृश्य अवलोकन गर्दै पहाडी क्षेत्रमा पदयात्रा गर्ने ठाउँहरू उल्लेख गरिएको छ। व्यस्त दैनिकीभन्दा पर हिमाल, पहाड, तालतलैया, झरना, जंगल, उकालो, ओरालो पार गर्दै ट्रेकिङ गर्नु मनको स्वास्थ्यका लागि लाभदायी हुन्छ। शरीरले पनि यसको फाइदा उठाइहाल्छ।
मर्दी हिमाल
हिमाली क्षेत्रको ट्रेकिङ सुन्नासाथ घन्चमन्चमा बसिरहेका अधिकांशलाई रमाइलो लाग्छ। मनमा उत्साह भरिन्छ। यस्तै उत्साहित हुनेहरूका लागि हो मर्दी हिमाल पदयात्रा।
मर्दी हिमाल अन्नपूर्ण आधार शिविरको छेउसम्म पुगिने पदयात्रा हो। वर्षको दुई सिजन गरेर पाँच महिना यहाँ जान सबभन्दा उपयुक्त महिना हुन्; मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर।
काठमाडौंबाट मर्दीसम्म जानेहरूले ५ दिनको समय छुट्याए पुग्छ।
पहिलो दिन काठमाडौंबाट धम्पुस (अस्ट्रेलियन क्याम्प) पुगिन्छ। दोस्रो दिन धम्पुसबाट मर्दी हिमाल बेस क्याम्प (लो-क्याम्प) पुगिन्छ। आधार शिविरबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नियाल्न सकिन्छ। त्यस्तै लमजुङ बजार, घान्द्रुक, लान्द्रुक लगायत ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
आधार शिविरबाट यी दृश्य हेर्दै तेस्रो दिन हाइ-क्याम्पसम्म पुगिन्छ। तेस्रो रात हाइ-क्याम्पको बसेर रमाइलो गर्न सकिन्छ।
चौथो दिन भने फर्किनुपर्छ। यो दिन हाइ-क्याम्पबाट पोखरासम्मको यात्रा हुनेछ। यसपछि समय मिले सोही दिन नभए एक रात पोखरा बसेर भोलिपल्ट काठमाडौं आउँदा हुन्छ। पर्यटन व्यवसायीहरूका अनुसार यो यात्राका लागि कम्तीमा १५ हजार रूपैयाँ खर्च चाहिन्छ।
यो पदयात्रा विभिन्न ट्राभल कम्पनीहरूमार्फत पनि जान सकिन्छ। त्यसरी जाँदा पाँच जनाको समूह बनायो भने जीपमा जान पाइन्छ। खाने र बस्ने व्यवस्था कम्पनीले गरिदिन्छ। साथमा एक जना ट्रेकिङ गाइड पनि व्यवस्था हुन्छ।
पिके पिक ट्रेक
पिके पिक ट्रेक पछिल्लो समय चर्चामा आएको पदयात्रा रूट हो भन्दा फरक पर्दैन। यसलाई नयाँ तर सुन्दर पदयात्रा मार्ग मानिन्छ। सगरमाथा क्षेत्रका सबै हिमाल हेर्न सकिने भएकाले यसलाई तल्लो सगरमाथा पदयात्रा पनि भनिन्छ।
यो पदमार्गमा पदयात्रीहरूले जति दिनको यात्रा गर्न पनि सक्छन्। तर कम्तीमा ५ दिनमा पनि ट्रेकिङ भ्याउन सकिन्छ।
पिके चुचुरोबाट मकालु हिमाल, कञ्चनजंघा, आमा दब्लम, ल्होत्से, नुप्तसे, नुम्बुर, गौरीशंकर, लाङटाङ र सुदूरपश्चिमतर्फ धौलागिरि जस्ता अग्ला हिमालको दृश्य पनि लिन सकिन्छ।
पिके पिक ट्रेकका लागि काठमाडौंदेखि पहिलो दिनको यात्रा सुरू हुन्छ। काठमाडौंबाट पातले डाँडा पुगिन्छ। दोस्रो दिन पातले डाँडाबाट जाप्रेसम्म पुगिन्छ। तेस्रो दिन जाप्रेदेखि पिके आधार शिविरसम्म पुगिन्छ। चौथो दिन पिके आधार शिविरबाट फाप्लुसम्म पुगिन्छ र पाँचौं दिन फाप्लुबाट काठमाडौं फर्किन सकिन्छ।
गाउँका बस्ती नियाल्दै स्थानीय कला र संस्कृतिसँग घुलमिल हुँदै यो यात्रा सकिन्छ। यो यात्राका क्रममा स्थानीय अर्गानिक खानासँगै चियाघरमा बस्न पाइन्छ। विशेषगरी शेर्पा जाति, गुम्बाहरूको भव्य दृश्य हेर्दा हिमालयको मनोरम दृश्यको आनन्द लिन सकिन्छ।
त्यस्तै तल्लो खुम्बु क्षेत्रका विभिन्न प्राचीन र सुन्दर गुम्बाहरूको भ्रमण गर्न सकिन्छ। सगरमाथाको अन्य पदयात्रा रूटको तुलनामा पिके चुचुरो रूटको लोकप्रियता बढ्दै गएको छ।
यो यात्राका लागि एक जनाले कम्तीमा १० हजार रूपैयाँ बोक्नुपर्छ।
घोरेपानी, पुनहिल
नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट गन्तव्यमध्ये मानिन्छ। आफ्नो समयअनुसार ट्रेक लम्बाउन वा छोट्याउन सकिन्छ। काठमाडौंबाट घोरेपानी जानेहरूले ५ दिनको समय छुट्याए पुग्छ।
काठमाडौंदेखि पोखरासम्म पहिलो दिनको यात्रा हुनेछ। दोस्रो दिन पोखराबाट डेढ घन्टा यात्रापछि नयाँपुलबाट पुनहिल पदयात्रा सुरू हुन्छ। उल्लेरी, घोरेपानी र घान्द्रुकका सुन्दर गाउँहरू हेर्दै पदयात्रा गर्न सकिन्छ। तिखेढुंगामा पुगेर बसेपछि तेस्रो दिन घोरेपानी पुगिन्छ।
घोरेपानीबाट बिहानीको सूर्योदय अवलोकन गर्न पाइन्छ। साथमा यस पदयात्राबाट धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, लमजुङ, बाराशिखर, निलगिरि, टुकुचे चुचुरो, हिउँचुली र मनास्लु हिमाल अवलोकन गर्न सकिन्छ।
यी हिमशृंखला अवलोकनसँगै सोही दिन फर्किएर टाढापानी आइपुगिन्छ। पाँचौं दिन भने टाढापानीबाट घान्द्रुक हुँदै पोखरा र काठमाडौं फर्किन सकिन्छ।
एक जनाले १५ हजार रूपैयाँमा मजाले काठमाडौंदेखि पुनहिल पदयात्रा गर्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन्।
गोसाइँकुण्ड
धार्मिक तीर्थस्थल गोसाइँकुण्ड पनि ट्रेकिङका लागि राम्रो रूट हो। लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको गोसाइँकुण्ड ताल समुद्री सतहबाट ४३८० मिटरको उचाइमा छ। रसुवाको यस ताल हिमाली दृश्यले घेरिएकाले पदयात्रा गर्दा छुट्टै रमाइलो हुन्छ। पहिलो दिन काठमाडौंबाट ६ घन्टाको बस यात्रामार्फत धुन्चेमा बास बस्न पुगिन्छ।
दोस्रो दिन धुन्चेबाट पदयात्रा सुरू हुन्छ। त्यहाँबाट ठूलो चन्दनबारीसम्म जाने। तेस्रो दिन चन्दनबारीबाट करिब ६ घन्टा हिँडेपछि गोसाइँकुण्ड पुगिन्छ। चौथो दिन गोसाइँकुण्डबाट ट्रेक गर्दै धुन्चेमा आएर बस्ने र पाँचौं दिन काठमाडौं फर्किन सकिनेछ।
विशेषगरी गोसाइँकुण्ड पदयात्राले हिमालयको दृश्य, ताल, राष्ट्रिय निकुञ्ज मनोरञ्जन दिनेछ। लाङटाङ, लिरुङ, गाङछेन्पो, दोक्पु चुचुरो, नया कांगरी, याला चुचुरो, गणेश हिमाल, मनास्लु हिमाल लगायत धेरै चुचुराहरू गोसाइँकुण्ड घुम्दै गर्दा पदयात्रीहरूले हेर्न सक्छन्।
यो गन्तव्यमा ट्रेकिङ गर्दा बस्न राम्रा होटल टि-हाउस र लजहरू उपलब्ध छन्। पदयात्रा गर्दैगर्दा लाग्ने खर्च भने निश्चित हुँदैन। त्यसमा खर्च कति गर्ने कस्तो खाना खाने भन्ने कुरा पदयात्रीमा भर पर्छ। नेपाली खाना खाँदै यो यात्रा गरेमा ५ दिन गोसाइँकुण्ड जान करिब १५ हजार रूपैयाँ चाहिन्छ।
पाँचपोखरी
सिन्धुपाल्चोकमा रहेको पाँचपोखरीमा पछिल्लो समय पदयात्राका लागि जानेहरू बढेका छन्। काठमाडौं पाँचपोखरी जान ५ दिन छुट्याए पुग्छ। पाँचपोखरी ट्रेकिङका लागि अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर विशेष हुन्।
नेवार, ब्राह्मण, क्षेत्री र गुरूङ बस्तीहरू पार गर्दै यो गन्तव्य पुगिन्छ। गाउँका बस्ती, जंगल, पहाड, हिमनदी, हिमाल, खोला लगायतका कुरा अवलोकन गर्न पाइन्छ। यस बीचमा त्यहाँका स्थानीय कला संस्कृतिमा भुल्दै अर्गानिक खानेकुराको स्वाद लिन पाइन्छ।
पाँचपोखरी ट्रेकिङमा गौरीशंकर, दोर्जे लाक्पा, जुगल र रोल्वालिङ हिमालय शृंखला हेर्न पाइन्छ।
पाँचपोखरी दुइटा बाटो भएर पुग्न सकिन्छ। एउटा पदयात्रा सानो ओखरेनीबाट चौतारा हुँदै र अर्को भोटाङबाट मेलम्ची हुँदै। भोटाङ सबैभन्दा सजिलो र रूचाइएको मार्ग हो।
पहिलो दिन काठमाडौंबाट यात्रा सुरू हुन्छ। यो यात्रा भोटाङ हुँदै मेलम्ची हुँदै देउरालीसम्म पुगिनेछ। संस्कृति कला र मौलिकता झल्कने बस्ती, प्राकृतिक, सुन्दर र मनमोहक दृश्य, वनस्पति र जीवजन्तुहरू हेर्दै यो यात्रा अघि बढ्नेछ।
दोस्रो दिन देउरालीबाट अगाडि नोसेम्पटी हुँदै लाहुरे भञ्ज्याङ पुगिन्छ। तेस्रो दिन लाहुरे भञ्ज्याङबाट पाँचपोखरी पुगिन्छ। यही दिन पाँचपोखरी अवलोकन गरेर यो यात्रा फिर्ता हुनेछ। बेलुका टाङ्गुमा बास बस्न पुगिन्छ।
चौथो दिन टाङ्गुबाट भोटाङ पुगिन्छ भने पाँचौं दिन भोटाङबाट मेलम्ची हुँदै काठमाडौं आइपुगिनेछ। पाँच दिनको यो यात्राका लागि करिब १५ हजार रूपैयाँ चाहिन्छ।
ट्रेकिङका चाहिने सामग्री
ट्रेकिङ जाँदा ह्याट वा क्याप, चस्मा, ट्रेकिङ सुज, लठ्ठी, पन्जा आवश्यक सामान हुन्। पहिरनको कुरा गर्दा जिन्स वा अरू भारी कपडाभन्दा सजिलो र खुकुलो टिसर्ट र ट्राउजर लगाउन उपयुक्त हुन्छ। त्यस्तै बाक्लो ज्याकेट, टोपी र मोजा पनि बोकेर हिँड्नुपर्छ।
यीबाहेक झोला, पानीको बोतल, सनब्लक क्रिम, हेडलाइट, एयरफोन, सानो चक्कु पनि तपाईंको आवश्यक सामानको सूचीमा हुनुपर्छ।
त्यस्तै लेक नलाग्ने औषधि, जीवनजल, ब्यान्डेज लगायत प्राथमिक उपचारका सामग्री बोक्नुपर्नेछ।