यती एयरलाइन्सको नयाँ विमानले आजदेखि व्यवसायिक उडान सुरू गरेको छ ।
गत भदौ २० गते छैटौं एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यवसायिक उडान सुरू गरेको हो।
उक्त विमान आज बिहान (शुक्रबार) ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
सो विमानलाई प्राधिकरणले नाइन एन–एएमजेट कल साइन दिएको छ। ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो।
एमएसएन नं. ९८६ भएको उक्त विमानको जम्मा ८ हजार २७३ साइकल र १० हजार २९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए।
एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानहरूमा यो सबैभन्दा पछिल्लो उत्पादन हो।
कम्पनीले यो विमान पश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरी ७२–६०० सिरिजका विमानहरूको उत्पादन सुरू गरेको हो।
नेपालमा ट्रंक रुटमा उडान गरिरहेका अन्य विमानहरू भन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो।
विमानहरुको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ।
एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ। एक उडानलाई एक साइकल गणना गरिन्छ।
'नेपालीको महान पर्व दसैंको शुभ साइत पारेर हामीले उडान सुरू गरेका छौँ, यसले दसैंको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ' बर्तौलाले भने।
सो एयरलाइन्सले हाल काठमाडौं चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरूमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ।