भोलि (शनिबार)बाट हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले हङकङ-काठमाडौं उडान गर्ने भएको छ।
क्याथेले तीन वर्षपछि शनिबार (असोज १५) बाट हङकङ–काठमाडौं उडान सुरू गर्न लागेको हो। क्याथेले हङकङ–काठमाडौं साताको एक उडान गर्ने बताएको छ।
क्याथेका बिक्री प्रमुख जुनु मालेकुकाअनुसार यो रुटमा हरेक शनिबार 'ए३३०–३००' सिरिजको जहाजले उडान गर्नेछ।
काठमाडौंबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्य पुग्न नेपाली तथा नेपालमा रहेका विदेशी यात्रुलाई काठमाडौं उडानले थप सहज बनाउने उनको भनाइ छ।
हाल क्याथेले हङकङ–काठमाडौंमा कार्गो उडान गर्दै आएको छ।
०७६ चैतमा कोभिड संक्रमण सुरू भएसँगै नेपाल सरकारले कोरोना महामारी रोकथामका लागि लकडाउन गरेपछि क्याथेले यात्रु उडान बन्द गर्दै मेडिकल कार्गो सुरू गरेको थियो।