उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ।
सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अनुसार हवाई मैदान क्षेत्रभित्र पर्ने मोथ्याइ सामुदायिक वन र कङखोला सामुदायिक वनभित्र पर्ने १० हेक्टर वन क्षेत्रको रूख काट्न सुरू गरिएको हो।
दुर्गा शक्ति जेभी कम्पनी विराटनगरले ठेक्का लिएर रूख काट्न सुरू गरेको समितिका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए। डेढ हप्ताभित्र कम्पनीले विभिन्न प्रजातिका एक सय ६४ रूख काटेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भू–संरक्षण विभागबीच सम्झौता भएपछि जोगिदह क्षेत्रको दुई सामुदायिक वनको दस हेक्टर क्षेत्रफलको रूख कटान थालिएको हो। एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइको सगरमाथा हवाई मैदान निर्माणका लागि त्रिनपा–१ जोगिदहको मोथ्याइ, सिमलटार र कङखोलासम्मको १५६.११ हेक्टरभन्दा बढीको क्षेत्रमा हवाई मैदान निर्माण गर्ने सहमति भएपछि रूख काट्न थालिएको हो।
रूख कटान सम्पन्न गरेर हवाई मैदान सञ्चालनमा आएपछि पुनः हवाई मैदान क्षेत्रका आसपासका जग्गामा वृक्षरोपण गरेर ३० प्रतिशत क्षेत्र वन क्षेत्र निर्माण गर्नुपर्ने प्रावधान रहेको समितिले जनाएको छ। त्रियुगा नगरपालिकाको जोगिदहमा २०७२ सालमा नै सर्भे भएर निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माण कार्यमा स्थानीयहरू र हवाई मैदान निर्माण व्यवस्थापन समितिबीच पटकपटक विवाद भएको थियो। वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएपछि काम अघि बढेको हो।
परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा हवाई मैदान निर्माण कार्य सहज भएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत बताउँछन्। अब दसैंलगत्तै रूख कटानसहित बाँकी कार्य नियमित रूपमा हुने उनको भनाइ छ। अबको दुई वर्षभित्र हवाई मैदान निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइने बस्नेतले बताए।
एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रको हवाई मैदान निर्माण सम्पन्न गरेर दुई सय मिटरको लम्बाइ र ६० मिटर चौडाइ एप्रोनसहितको टर्मिनल आधुनिक टर्मिनल भवन, ट्याक्सी पार्किङ ग्राउन्डसहितको पूर्वाधार निर्माण गर्न १५६.११ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहण भएको समितिले जनाएको छ।
सगरमाथा क्षेत्रको नै महत्वपूर्ण हवाई मैदान निर्माण सम्पन्न भएपछि उदयपुरबाट पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलु तथा ओखलढुंगा र विराटनगर तथा राजधानी काठमाडौं यात्रा गर्न सहज हुने छ। हवाई मैदान निर्माण सम्पन्न गर्न झण्डै दुई अर्ब ४० करोड रूपैयाँ बजेट चाहिने समितिले जनाएको छ।