रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरू भएको छ। तारा, समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्।
दसैंका बेला काठमाडौको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीले विदेशी पर्यटकलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन्।
यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीले यस वर्षदेखि उडान थालेका हुन्। यो पर्यटकको याम भएकाले दैनिक रुपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको कम्पनीहरूले जनाएका छन्।
काठमाडौंबाट नजिक रहेको यस विमानस्थलमा साना विमानस्थलका लागि हवाई इन्धनसहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ। नजिकको दुरीमा रहेर पनि रामेछाप–काठमाडौंको कुनै कम्पनीले पनि उडान भर्न सकेका छैनन्।