घुमफिर रमाइलो यात्रा मात्र होइन, यसले मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ राख्न पनि मद्दत गर्छ। सहरको कोलाहलबाट बाहिर निस्केर आसपासको वातावरणसँग रमाउँदै हिँड्नुको मजा बेग्लै हुन्छ।
साथीसंगीसँग रमाउँदै, गफिँदै हाइकिङ जानेहरूको जमात बढ्दो छ।
यसरी हिँड्न मौसम र समय दुवैले साथ भने दिनुपर्छ। दसैंको समय अधिकांशलाई यी दुवै कुराको साथ मिल्छ। यो बिदामा हाइकिङ जान काठमाडौंमा बस्नेहरूका लागि छोटो दुरीमा रहेका केही ठाउँहरू उपयुक्त छन्।
यस्तै गन्तव्यको खोजीमा हुनुहुन्छ भने हामीले विभिन्न पर्यटन व्यवसायीहरूसँग कुराकानी गरेर यहाँ ५ ठाउँबारे जानकारी दिएका छौं।
चिसापानी
चिसापानी अर्थात् चिसो पानी। यो पदयात्रा काठमाडौं उपत्यका नजिकैको पदमार्ग हो। हिमालय शृंखला हेर्न र प्रकृतिको आनन्द लिन छोटो पदयात्रामध्ये पर्छ चिसापानी। विशेषगरी शनिबारको दिन काठमाडौं उपत्यकाबासीको रोजाइमा पनि पर्छ यो गन्तव्य।
यो पदयात्रा काठमाडौंको सुन्दरीजलबाट सुरू हुन्छ। पुरानो बसपार्क हुँदै सुन्दरीजल पुग्न सकिन्छ। सुन्दरीजलबाट उकालै उकालो शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ लाग्नुपर्छ। शान्त जंगलसम्मको उकालो पैदल यात्रा।
यो यात्रामा चराको चिरबिर आवाजले आनन्दित बनाउँछ। स्थानीय मानिसहरूको जीवनशैली, संस्कृति र परम्पराहरू अवलोकन गर्न पाइन्छ। चिसापानी हाइकिङ कति समय लाग्छ भन्ने कुरा पदयात्रीको रोजाइमा भर पर्छ। सामान्यतया ५ घन्टामा चिसापानी पुग्न सकिन्छ।
दुई दिनमा वनप चिसपानी यात्रा गर्न सकिन्छ। पहिलो दिन काठमाडौंदेखि चिसापानी। दोस्रो दिन चिसापानीबाट नगरकोट हुँदै काठमाडौं। चिसापानीमा बस्नका लागि थुप्रै रिसोर्ट र होटलहरू थुप्रै छन्।
एक रातको बसाइपछि भोलिपल्टको सूर्योदय अवलोकन गर्नु यहाँको अर्को आकर्षण हो। योसँगै चिसापानीदेखि नगरकोटसम्मको यात्रा सुरू हुन्छ। चिसापानी र नगरकोट दुवै लाङटाङ हिमाल चुचुरो हेर्ने उत्कृष्ट ठाउँ हुन्।
यहाँबाट गणेश हिमाल, लाङटाङ, लाङटाङ लिरुङ, गौरीशंकर, दोर्जे लाक्पा, जुगल हिमाल लगायत धेरै चुचुराहरू हेर्न सकिन्छ।
शिवपुरी
शिवपुरी चर्चित हाइकिङ रूट हो। काठमाडौं उपत्यकाबाट ७ घन्टा हिँडेपछि शिवपुरी पुगिन्छ। नजिकै भएकाले पनि शिवपुरी प्रायः शनिबार काठमाडौंवासीको हाइकिङ गन्तव्यमा पर्छ। बिदाको दिन यहाँ हाइकिङ जानेहरूको भिड नै हुन्छ।
शिवपुरी डाँडामा पुग्ने तीनवटा बाटा छन्। एउटा हो बुढानिलकण्ठबाट चेकपोस्ट र नागी मठ हुँदै। यो मार्ग पदयात्री धेरै चल्तीमा छ। यात्रामा बुढानीलकण्ठ मन्दिरका साथै बौद्ध नागी गुम्बा पनि देखिन्छ।
अर्को रूट हो बुढानिलकण्ठबाट चेकपोस्ट भएर सिधै शिवपुरी पुग्ने। यो रूटमा उकालो सिँढी चढ्नुपर्छ। यो बाटो अघिल्लोभन्दा केही छोटो छ।
त्यस्तै तेस्रो रूट हो बुढानिलकण्ठबाट डाँडागाउँ, भञ्ज्याङ हुँदै शिवपुरी। यो रूट भने पहिले राजमार्गका रूपमा प्रयोग हुँदै आएको थियो। नयाँ राजमार्ग बनाएपछि यहाँबाट भञ्ज्याङसम्म पैदल यात्रा गर्न सकिने भएको हो। भञ्ज्याङबाट हिमाल देख्न सकिन्छ।
जंगलमा उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुगेपछि हिमशृंखलाहरू देख्न सकिन्छ। चराचुरुंगी, पुतली, विभिन्न प्रजातिका वनस्पतिबारे जान्न पनि शिवपुरी हाइकिङ उपयुक्त मानिन्छ। शिवपुरी हाइकिङमा अध्ययनका लागि विद्यालयहरूले आफ्ना विद्यार्थीलाई पनि लैजाने गरेको पाइन्छ। यसबाहेक साथीभाइ, परिवार र आफन्तको साथमा पनि शिवपुरी हाइकिङ लोकप्रिय छ।
शिवपुरीको चुचुरोबाट गणेश हिमाल, लाङटाङ लिरुङ हिमाल, गञ्जला चुचुरो, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल देख्न सकिन्छ।
चम्पादेवी
चम्पादेवीको पदयात्रा अरू गन्तव्यभन्दा छोटो यात्रा हो। तुलनात्मक रूपमा कम समय भएकाहरूका लागि उपयुक्त छ। चम्पादेवी हाइकिङ पछिल्लो समय युवाहरूमाझ निकै लोकप्रिय छ। उपत्यकाको दक्षिण–पश्चिममा रहेको चम्पादेवी डाँडा काठमाडौं र मकवानपुर जिल्लाको सिमाना हो।
चोभारको टौदहबाट हाइकिङ सुरू गरेर दक्षिणकाली मन्दिर हुँदै नजिकको पुरानो नेवारबस्ती फर्पिङ हेर्दै पुग्न सकिन्छ। चम्पादेवी जान अन्य पदमार्ग पनि छन्। भञ्ज्याङ हुँदै सार्वजनिक यातायात प्रयोग गर्दा पनि हुन्छ। भञ्ज्याङबाट हात्तीवन रिसोर्टसम्म पुगिन्छ। रिसोर्टबाट हरियाली जंगल हुँदै चम्पादेवी पहाडको चुचुरोमा पुग्न करिब तीन घन्टा लाग्छ। यो पदयात्रा वैकल्पिक रूपमा फर्पिङ गाउँबाट पनि सुरू गर्न सकिन्छ।
चम्पादेवी जाने अर्को रुट कीर्तिपुरको मच्छेगाउँबाट पनि छ। करिब ५ घन्टामा चम्पादेवी हाइट पुगिन्छ। जहाँबाट गौरीशंकर, लाङटाङ र अन्नपूर्णलगायत हिमशृंखला देख्न सकिन्छ । यी दृश्य अवलोकनपछि सोही रूट हुँदै फर्किन सकिन्छ।
चन्द्रगिरि
चन्द्रागिरि चर्चित हाइकिङ ट्रेलमध्ये पर्छ। कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरू गरेर छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ। चन्द्रागिरिको डाँडा निस्किने अर्को बाटो थानकोटको गोदामचौरबाट पनि छ। काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा हुँदै थानकोट गोदामसम्म गाडीमा जान सकिन्छ। गोदामबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै भालेश्वर पुगिन्छ। भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा गर्न सकिन्छ। यो पदयात्रा दुरी जम्मा १६ किलोमिटरको छ।
मन्दिर वरिपरि एक रेस्टुरेन्ट र भ्युटावरसँगै पार्कहरू छन्। भ्युटावरबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धौलागिरि हिमालसम्मको वरिपरिको दृश्य देख्न सकिन्छ।
चन्द्रागिरिबाट सगरमाथा, मकालु, कञ्चनजंघा, मनासलु लगायत हिमाल देखिन्छ। चन्द्रगिरिमा भालेश्वर महादेव रहेकाले पदयात्रापछि दर्शनका लागि पनि जानेहरू पनि हुन्छन्। दर्शनका लागि केबलकारबाट यात्रा गर्न सकिन्छ।
मणिचुड
मणिचुड हाइकिङ युवापुस्ता माझ लोकप्रिय छ। यहाँको मुख्य आकर्षण दह हो। काठमाडौंबाट मणिचुड हाइकिङका दुई वटा रूट छन्। सार्वजनिक वा निजी सवारीमार्फत साँखुसम्म पुग्न सकिन्छ। त्यहाँबाट दुई किलोमिटरको दुरीमा पर्ने बज्रबाहिनी मन्दिर पुगिन्छ। सो मन्दिरबाट सुरू भएको यात्रा सहिदपार्क हुँदै मणिचुड पुगिन्छ।
अर्को रूट चाबहिलबाट थली, इन्द्रायणी चोक हुँदै गागलफेदी बजारबाट सुरू हुन्छ। गागलफेदी बजार हुँदै यात्रापछि मणिचुड पुग्न सकिन्छ। साँखु वा गागलफेदी जुन रूटबाट पनि जान सकिन्छ।
स्थानीयका अनुसार अहिले सहिदपार्क सम्मको सडक पिच गरिएको छ।
मणिचुडबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, स्वयम्भू डाँडा, मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य र महामञ्जुश्रीको डाँडा देख्न सकिन्छ।
हाइकिङ पकाउन नपर्ने तयारी खानेकुराहरू र पर्याप्त पानी बोक्नुपर्छ। ह्याट वा क्याप, चस्मा, हिँड्न सजिलो हुने जुत्ता लाउनु उपयुक्त हुन्छ। मौसमअनुसारको ज्याकेट बोक्न पनि भुल्नु हुँदैन।