युरोपेली युनियन (इयू) को टोलीले नेपालको हवाइ क्षेत्रबारे अडिट गरेको छ। गत साता तीन दिनसम्म उक्त टोलीले हवाइ सुरक्षाका विभिन्न क्षेत्रमा प्रारम्भिक अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गरेको हो।
इयूको प्राविधिक टोलीले गत बिहीबारदेखि शनिबारसम्म (अक्टोबर ६ देखि ८ तारिख) प्रारम्भिक अध्ययन गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। अध्ययनपछि इयूको टोली र प्राधिकरणबीच छलफल भएको थियो।
‘अध्ययनपछि भएको छलफलमा इयुको टोलीले नेपालको हवाइ सुरक्षा राम्रो देखिएको छ हामी सन्तुष्ट छौं भनेका छन्,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘यो प्रारम्भिक चरण हो, यसको रिपोर्ट २८ अक्टोबरमा आउँछ।’
उनले अगाडि थपे, ‘रिपोर्टमा उठाइएका विषयहरू छन् भने फेरि जवाफ दिन्छौं प्रमाण पेस गर्छौं त्यसपछि मात्र अन्तिम रिपोर्ट आउँछ। जे होस नेपाली एयरलाइन्सहरू अब युरोपेली मुलुकमा उड्न पाउनेछन्।’
नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले डिसेम्बर २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो।
यसअघि आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ।
आइकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अंक पाएको थियो। आइकाओको टिमले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्यांकन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो।