आगामी एक वर्षभित्र ५६ अर्ब ५० करोड रूपैयाँ लगानीका १९ वटा तारे होटल सञ्चालनमा आउने भएका छन्। जसमा १७ वटा पाँचतारे र दुइटा बुटिक होटल छन्। यी सबैमा गरेर २ हजार ३ सय ९६ वटा कोठा हुनेछन्।
सन् २०२३ भित्र सञ्चालनमा आइसक्ने गरी यी होटल बनिरहेका हुन्।
काठमाडौं उपत्यकामा मात्र दुइटा बुटिक होटलसँगै ९ वटा पाँचतारे होटल सञ्चालनमा आउँदै छन्।
बालुवाटार र नक्सालको बीचमा 'लक्जरियस बुटिक' होटल 'वर्णवास' निर्माणको अन्तिम चरणमा छ। हाल वर्णवासका कोठाहरू साजसज्जाको काम भइरहेको छ।
एक अर्ब १६ करोड रूपैयाँ लगानीमा पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले यो होटल बनाउँदै छन्। हिमाल, पहाड र तराई झल्किने होटल वर्णवास संग्रहालयसहित हुनेछ। जहाँ नेपाली कला, संस्कृति र मौलिकता झल्किनेछ।
नौ तलाको यो होटलमा ४८ वटा कोठाहरू हुनेछन्। यीमध्ये ६ वटा प्रेसिडेन्टल स्विट, १८ वटा स्विट र बाँकी डिलक्स रूम हुनेछन्। सबै स्विट रूममा ज्याकुजी (तातो पानी हुने बाथटब) हुनेछ।
'यति धेरै प्राइभेट ज्याकुजी रहेको नेपालकै पहिलो होटल हुनेछ वर्णवास,' राजेन्द्रले भने।
बुढानिलकण्ठमा पनि दुइटा होटल बनिरहेका छन्।
एउटा हो 'बुढानिलकण्ठ हेरिटेज' होटल। एक सय २ कोठा हुने यो होटल एक अर्ब ६० करोड रूपैयाँ लगानीमा बनिरहेको छ। यो आगामी एक वर्षभित्र सञ्चालनमा आउँदैछ।
दुई अर्ब ६० करोड रूपैयाँ लागतमा बनिरहेको अर्को होटल हो 'फरेस्ट इन'। यो पनि आगामी वर्षदेखि सञ्चालनको तयारीमा छ। यहाँ ११५ कोठा हुनेछन्।
कान्तिपथमा निर्माणाधीन पाँचतारे होटल 'शेराटन' पनि आगामी वर्षबाट सञ्चालनमा आउने तयारी छ। गैरआवासीय नेपाली शेष घलेको लगानीमा बनिरहेको शेराटन सन् २०१८ मै सञ्चालनमा आउने गरी बनिरहेको थियो। तर भूकम्प, नाकाबन्दी र कोरोना महामारीले निर्माणमा ढिलाइ भयो। अब आउँदो सालभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ।
१२ अर्ब लगानीमा बनिरहेको शेराटनमा २२५ कोठा हुनेछन्।
शंकर ग्रुपले निर्माण गरिरहेको पाँचतारे होटल 'डबल ट्री बाइ हिल्टन' को पनि आगामी एक वर्षमा सञ्चालन हुने गरी काम भइरहेको छ। सन् २०१८ बाट निर्माण सुरू भएको यो होटलको कुल लगानी ६ अर्ब ६८ करोड रूपैयाँ अनुमान गरिएको छ। यसमा कुल एक सय ७४ वटा कोठा हुनेछन्।
लाजिम्पाटमा पनि एक सय ८ वटा कोठासहितको 'दुषित प्रिन्सेस' होटल सञ्चालनमा आउँदैछ। यसको लागत अनुमान एक अर्ब ५० करोड रूपैयाँ छ।
अर्को होटल सुकेधारामा बन्दैछ। 'मेट्रोपोलिटन' नामको यो होटल एक अर्ब ५० करोड रूपैयाँ लगानीमा बनिरहेको हो। यहाँ एक सय १६ वटा कोठा हुनेछन्।
ललितपुरको पुल्चोकमा साढे तीन अर्ब लगानीको होटल 'क्राउन प्लाजा' बन्दैछ। यसमा एक सय ८४ वटा कोठा हुनेछन्।
ललितपुरकै ग्वार्कोमा ६ अर्ब ५१ करोड रूपैयाँमा निर्माण भइरहेको छ 'द म्यासिफ होटल'। सञ्चालनको अन्तिम तयारीमा रहेको यो होटलमा तीन सय २ कोठा हुनेछन्।
काठमाडौं बाहिरको कुरा गर्दा, चितवनमा पाँचतारे रिसोर्ट 'रोयल टुलिप' बन्दैछ। पर्यटन क्षेत्रमा सम्भावना देखेर पहिलोपटक होटलमा लगानी गरेको यसका सञ्चालक रामेश्वर शाह बताउँछन्।
'सौराहालाई पर्यटकीय गन्तव्य मानिन्छ तर यहाँ लक्जरियस होटल छैनन्,' उनले भने, 'रोयल टुलिपलाई सौराहाको बेस्ट रिसोर्ट बनाउन लागि परेको छु।'
रोयल टुलिप सन् २०२१ बाट निर्माण सुरू भएको हो। एक वर्षमा निर्माण सकिने गरी काम सुरू गरे पनि पछि अन्य संरचना थप्ने भएकाले निर्माण पछाडि धकेलिएको उनले बताए।
करिब ३४ रोपनी क्षेत्रमा बनिरहेको रोयल टुलिपका लागि रामेश्वरले करिब ८५ करोड रूपैयाँ लगानी अनुमान गरेका छन्। रिसोर्टमा स्विट लगायत ५ प्रकारका विविध सुविधा सहितका ६४ कोठा हुनेछन्।
त्यस्तै डुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थिएटर पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको ग्रिल बार र रेस्टुरेन्ट जस्ता सेवाहरू ग्राहकले पाउने छन्। नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्री प्रयोग गरी निर्माण भइरहेको रिसोर्टमा एक रात बस्न कम्तीमा १० हजारदेखि बढीमा ५० हजार रूपैयाँसम्म पर्ने रामेश्वरले अनुमान गरेका छन्।
आगामी दसैंबाट सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताए।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आसपास सुविधासम्पन्न होटलहरू निर्माण भइरहेका छन्। आगामी वर्षबाटै सञ्चालनमा आउने गरी चार वटा होटल हाल निर्माणको अन्तिम चरणमा छन्।
एक अर्ब लगानीमा एक सय २५ कोठाको 'होलिडे इन' बन्दैछ। त्यस्तै दुई अर्ब लगानीमा ८५ कोठाको 'सिद्धार्थ', साढे दुई अर्ब लगानीमा एक सय १७ कोठाको 'मेघा-२' र तीन अर्ब लगानीमा १०३ कोठाको 'एसियन इन्टरनेसनल रिजेन्सी' आगामी एक वर्षभित्र सञ्चालनमा आउँदै छन्।
त्यस्तै विराटनगरमा तीन अर्ब रूपैयाँ लगानीमा 'र्याडिसन' होटल बन्दैछ जसमा एक सय ४६ कोठा हुनेछन्।
काभ्रेमा दुई अर्ब ५० करोड लगानीमा 'दुषित थानी हिमालयन रिसोर्ट एन्ड स्पा' बन्दैछ। यसमा ८३ वटा कोठा हुनेछन्।
बाराको सिमरामा एक अर्ब ६५ करोड रूपैयाँ लगानीमा बनिरहेको 'इच्छा' होटलमा एक सय १ वटा कोठा हुनेछन्।
नब्बे वटा कोठासहित सुनसरीको इटहरीमा बनिरहेको 'सोल्टी वेस्टइन्ड' एक अर्ब ५० करोड लगानीमा बनिरहेको छ।
एक अर्ब ४५ करोड लगानीमा एक सय ८ कोठा भएको 'सफ्रोन सिके' होटल बुटवलमा बन्दैछ।
यी सबै होटल सन् २०२३ भित्र सञ्चालनको तयारी गरिरहेका छन्।
यसअघि सरकारले घोषणा गरेको 'भ्रमण वर्ष २०२०' मा सञ्चालन गर्ने गरी निर्माण सुरू गरेका कतिपय तारे होटलहरूको काम कोरोना महामारीका कारण रोकिएको थियो। तिनीहरू हाल सञ्चालनको तयारी गरिरहेका छन्।
पछिल्लो समय होटल उद्योगमा लगानी बढिरहेको होटल संघका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन्। छोटो समयमै फाइदा दिने भएकाले हस्पिटालिटीमा आकर्षण बढेको उनले बताए।
उनका अनुसार सहरी सञ्जालको विकाससँगै मुलुकभर सुविधासम्पन्न होटलहरू निर्माण र सञ्चालनमा आइरहेका छन्।
'पहिले सुविधासम्पन्न होटलहरू काठमाडौं केन्द्रित थिए,' उनले भने, 'देश संघीयतामा गएपछि सबै प्रदेशहरूमा यस्ता होटलहरू सञ्चालन भइसकेका छन्।'
होटलमा लगानी थपिए पनि पर्यटन पूर्वाधारले साथ नदिएको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र अन्य अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन चुस्तदुरूस्त बनाउन सकेमा पर्यटनको अथाह सम्भावना रहेको उनको भनाइ छ।
'सरकारले सन् २०२३-२०३३ मा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। आजको दिनमै होटल उद्योगले यति पर्यटकलाई धान्न सक्ने अवस्था छ। अझै होटल थपिने क्रम जारी छ,' उनले भने।
पर्यटन विभागको तथ्यांकअनुसार हालसम्म देशभर १८ वटा पाँचतारे होटल सञ्चालनमा आइसकेका छन्। ती सबैमा गरेर दुई हजार ८ सय ७७ वटा कोठा छन् भने चार हजार जनाले रोजगारी पाएका छन्। त्यस्तै हाल चारवटा बुटिक होटल सञ्चालनमा छन्। यी बुटिक होटलमा ३ सय ३९ वटा कोठा छन्।
यीबाहेक एकतारे ३७ वटा, दुईतारे ४१ वटा, तीनतारे ३३ वटा र चारतारे १९ वटा होटल सञ्चालनमा छन्।
नेपालमा पहिलोपटक २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो। त्यसयता करिब पचास वर्षको इतिहासमा डेढ सयभन्दा बढी तारे होटल सञ्चालनमा आएको विभागको तथ्यांकमा उल्लेख छ।