प्याराग्लाइडिङ उडान व्यवस्थित र सुरक्षित बनाउन उच्चस्तरीय समिति गठन भएको छ।
नागरिक उड्डयन प्राधिकरणले बुधबार उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको बताएको छ।
उक्त समितिले अध्ययन प्रतिवेदन बुझाएपछि थप निर्णय हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
'पोखरा दुर्घटनापछि यसलाई थप सुरक्षित र व्यवस्थित गर्नका लागि समिति गठन भएको छ’ प्रवक्ता निरौलाले सेतोपाटीसँग भने, 'हालका लागि प्याराग्लाइडिङ बन्द गरिएको अब समितिको अध्ययन प्रतिवेदनपछि बाँकी निर्णय हुनेछ।'
गत आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी प्राधिकरणले यो खेल बन्द गरेको थियो।
प्राधिकरणले आइतबार नै अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको थियो। हाल देशभरका प्याराग्लाइडिङ उडान बन्द छन्।