नेपाल वायुसेवा निगम र जिएसए (जनरल सेल्स एजेन्ट) बीच भारतको मुम्बई र बैङ्लोरमा दुइ दिने अन्तर्कियात्मक कार्यक्रम सम्पन्न भएको छ।
निगमको व्यापार तथा बिक्री प्रवर्द्धन गर्ने उद्देश्यले असोज २६ र ३१ गते (१४ र १७ अगस्ट २०२२) उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यहरूमा उडान गर्दै आइरहेको बताए।
उनले हाल नेपाल एयरलाइन्सले भारतको मुम्बई, दिल्ली र बैङ्लोरमा नियमित रूपमा उडान गरिरहेको जानकारी दिए।
कोरोना महामारीपछि हवाई सेवा सुधारसँगै निगमको उडानमा पनि क्रमशः विस्तार हुँदै गएको बताउँदै अध्यक्ष अधिकारीले आगामी दिनमा चीनको ग्वान्जाउ, भारतको अहमदावाद र सिंगापुर हुँदै अष्ट्रेलिया जाने लक्ष्य रहेको बताए।
नेपालमा पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नको लागि सरकारले सन् २०२३–२०३३ को अवधिलाई पर्यटन दशकको रुपमा घोषणा गरेको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत सञ्चालन हुने चरणमा रहेकाले निगमको सेवालाई समयसापेक्ष थप प्रभावकारी बनाउँदै लैजाने समेत उनले बताए।
उक्त कार्यक्रममा १२० भन्दा बढी ट्राभल एजेण्ट, कार्गो एजेण्ट र जनरल सेल्स एजेन्टबीच सम्बन्धित विभिन्न विषयहरूमा छलफल भएको थियो।