भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ को उडान रोकिएको छ। दुई सय ५४ जना यात्रु रहेको उक्त विमानको उडान आइतबार दिउँसो १:४५ बजेलाई तय थियो।
तर नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले सेतोपाटीलाई जानकारी दिए।
'आरए–११७ को आज उडान नै छैन,' उनले भने, 'बिहानको उडान भइसक्यो तर १ः४५ को उडान छैन। उडान तालिका नै नभएकाले हामीले रोकिदिएका हौं।'
प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवाहरूको विन्टर सेड्युल (अक्टोबर ३० बाट २०२३ मार्च २७ सम्मको उडान तालिका) मा उडान कटौती गरिदिएकाले विमानस्थलले उडान रोकेको हो।
प्राधिकरणले उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई गत करिब दस दिनअघि नै सूचना दिएको थियो। अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको थियो। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौंबाट दैनिक हुने उडान कटौती गरिने जानकारी पनि दिएको थियो।
नेपाल एयरलाइन्सले यात्रुलाई भने यो जानकारी दिन सकेन। यसबारे हामीले नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्कालाई सोध्यौं।
'विन्टर सेड्युलका लागि प्राधिकरणले उडान कटौती गरेको सूचना दुई दिनअघि निगममा आइपुगेको हो। आजको उडानको टिकट २/३ महिनाअघि नै बुक भइसकेको थियो। हामीले प्राधिकरणसँग समय मागेका थियौं। अहिले उडान कटौती भयो,' उनले भनिन्।
उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई दुई दिनअगावै जानकारी आए पनि यात्रुलाई किन खबर गरिएन भन्ने प्रश्नमा उनले भनिन्, 'सार्वजनिक बिदा थियो। अब चाहिँ हामी अगाडि नै सूचना निकाल्छौं। अहिले छलफलकै क्रममा छौं। आजको उडानका यात्रुहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने भइरहेको छ।'
नेपाल एयरलाइन्सले यात्रुलाई जानकारी नदिई आफ्नै हिसाबमा उडान तय गर्दा आइतबार अढाई सयभन्दा धेरै यात्रु विमानस्थलमा अलपत्र परेका छन्।
अबका पनि उडान कटौती भइरहने हुन् कि भन्ने प्रश्नमा खड्काले यसबारे सम्बन्धित निकायहरूसँग छलफल भइरहेको बताइन्। भैरहवा विमानस्थलबाट उडान नगरेकै कारण कटौती भए पनि तत्काल त्यहाँबाट उडान भर्नसक्ने अवस्था भने नरहेको पनि उनले बताइन्।
'निगमसँग जहाज संख्या कम छ। काठमाडौंबाट उडान गरिरहँदा पनि सेड्युल प्याक छ,' प्रवक्ता खड्काले भनिन्, 'भैरहवा जान छलफल भइरहेको। छ तर समय लाग्न सक्छ।'
हाल नेपाल वायुसेवा निगमले काठमाडौं–नयाँ दिल्ली दैनिक दुई उडान गर्दै आइरहेको छ। सातामा १४ उडान गरिरहेको निगमका हाल प्राधिकरणले चार वटा उडान कटौती गरिदिएको छ।