नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमलाई उडान तालिका स्वीकृत नगराइ यात्रुलाई बोडिङ पास दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्राधिकरणले उडान तालिका स्वीकृत नगराइ बोडिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेको भन्दै निगमलाई यस्तो स्पष्टीकरण सोधेको हो।
अनुमति बिना नै यात्रुलाई बोडिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा स्पष्टीकरण सोधिएको विज्ञाप्तीमा उल्लेख छ।
विज्ञप्तीमा भनिएको छ, 'उडान नभए पनि सो उडानको यात्रुहरूलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा सो कार्य नगर्नुको कारण र उडान नभएको दिनमा यात्रुलाई विमानस्थलमा बोलाएर गैर कानुनी तरिकाले बोडिङ पास समेत उपलब्ध गराइ गैर सैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भिर असर पारेकाले निगमलाई निगमलाई स्पष्टीकरण सोधिएको हो।'
निगमले शिकागो महासन्धी तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उडयन प्राधिकरण ऐन २०५३ तथा नागरिक उदयन नियमावली, २०४८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान अवतरणको लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरित काम गरेको प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
त्यस्तै, कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान मात्र सञ्चालन गर्न गराउन वायुसेवा कम्पनीलाई निर्देशन गर्दै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्।