उडान अनुमति नलिई आइतबार र सोमबार विमानस्थलमै यात्रु अलपत्र पारेको विषयलाई लिएर नेपाल वायुसेवा निगमले माफी मागेको छ। निगमले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आइतबार उडान तालिका स्वीकृत नगरेको भन्दै निगमको दिल्ली उडान रोकेको थियो।
त्यस्तै सोमबार बिहान पनि आरए २०५–२०६ नम्बरको उडान रोकिएपछि एयरलाइन्सले विशेष कारणवश उडान रद्द गर्नुपरेको जनाउँदै यात्रुसँग माफी माग्दै विज्ञप्ति निकालेको हो।
एयरलाइन्सले आगामी दिनमा यस्ता घटना नदोहोर्याउने सोही विज्ञप्तिमार्फत प्रतिवद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, '३० अक्टोबर २०२२ को काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र ३१ अक्टोबरको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्द भएकाले यात्रुवर्गमा पर्न गएको असुविधा प्रति निगम दुःख व्यक्त गर्दछ‚ आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने समेत प्रतिबद्धता व्यक्त गर्दछौं।'
नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवाहरूको विन्टर सेड्युल (अक्टोबर ३० बाट २०२३ मार्च २७ सम्मको उडान तालिका) मा उडान कटौती गरिदिएकाले विमानस्थलले उडान रोकेको थियो।