मेची महाकाली पैदल यात्रा गरेका दोलखाका २३ वर्षीय अभिनय कार्कीले अर्को यात्रा सुरू गर्ने भएका छन्।
यही साताबाट दोलखाको कालिञ्चोकबाट यात्रा सुरू गरेर इलामको श्रीअन्तुसम्म पुग्ने बताएका छन्।
'आजको योगदान, पर्यटनको प्रवर्द्धन' भन्ने सन्देशलाई प्रवाह गर्दै यही साताबाट यात्रा सुरू गर्ने उनले जानकारी दिए।
'यो यात्रा कालिञ्चोकबाट दोलखा भीमेश्वर, खरिढुङ्गा, सिन्धुपाल्चोकको भोटेकोशी, चौतारा, काभ्रे हुँदै पूर्वको इलामसम्म पुग्नेछ' उनले भने, 'करिब एक महिनाको समयअवधि लाग्ने अनुमान गरेको छु।'
पैदल र साइकलमार्फत मुलुकभर भ्रमण गरिरहेका कार्की देशभित्र रहेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले हिडिरहेको बताउँछन्।
'मोटिभेसन फ्रम द सिचुएशन' अर्थात् परिस्थिति बाटै प्रेरणा टाइटल नाम दिइएको अभिनयको यो यात्रा तेस्रो हो।
यसअघि उनले २०७७ साल चैत्रमा मेची–महाकाली पैदल यात्रा गरेका थिए। जन्मउत्सवको अवसर पारेर विश्वभर सुख, शान्ती, समृद्धि र राष्ट्रिय एकताको कामना गर्दै नेपालसहित सयभन्दा बढी देशहरूको राष्ट्रिय झण्डा बोकेर नेपालको पुर्वमेचीदेखि पश्चिम महाकालीसम्म लगातार ३७ दिन एक्लै हिडेर पैदल यात्रा सम्पन्न गरेका थिए।
त्यस्तै, गत वर्षको पुसमा उनले दोस्रो चरणको यात्रामा गरेका थिए। कार्कीले दोस्रो चरणमा साइकलको माध्यमबाट ११९ दिनमा देशका सबै जिल्लाहरू भ्रमण गरेका थिए।
कार्कीले त्यस चरणको यात्रामा समुदाय स्तरमा 'फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणको लागि युवाहरू एकजुट बनौँ' भन्ने सन्देश पुर्याएका थिए।