हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुईटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ।
एयरलाइन्सले कात्तिक १७ देखि २४ गते (नोभेम्बर ३ देखि १०) सम्मका लागि भैरहवा–क्वालालमपुर चार्टर्ड उडानका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
प्राधिकरणकाअनुसार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बेस बनाएर काठमाडौं–भैरहवा–क्वालालम्पुर र क्वालालम्पुर–भैरहवा–काठमाडौंका लागि उडान गर्नेछ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले काठमाडौं विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरिसकेको छ।
प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई वीन्टर सेड्युलअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिइसकेको छ।
सोही अनुरूप हिमालय एयरलाइन्सले आगामी बिहीबारदेखि भैरहवाबाट चार्टर्ड उडान सुरू गर्न लागेको हो।