हिमालय एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरू गरेको छ।
एयरलाइन्सले बिहीबार १३५ जना यात्रु बोकेर भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि पहिलाे उडान सुरू गरेको हो।
बिहीबार भैरहवाबाट यात्रु उडाउन हिमालयले बुधबार राती काठमाडौंबाट यात्रु लगेको बताएको छ।
मलेसियाबाट दिउँसो १२:३० बजे भैरहवा विमानस्थल अवतरण गरेको हिमालयको जहाज ३ बजे भैरहवाबाट क्वालालम्पुरका लागि उडेकाे हो।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू गर्न पाउँदा उत्साहित भएको बताए।
'हामीले एभिएसन सेक्टरकाे र अपरेसनल अडिट गरेर उडान सञ्चालन सुरू गरेका हौं,' उनले भने।
भैरहवा विमानस्थलबाट दैनिक उडानका लागि हिमालयले नागरिक उड्डयन प्राधिकरणसँग दुइटा माग राखेको छ।
उपाध्यक्ष श्रेष्ठका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र भैरहवा विमानस्थलमा कमर्सियल (व्यावसायिक) ग्राउन्ड ह्यान्डलिङको जिम्मा हिमालयलाई दिएमा यसले भैरहवाबाट यात्रुबाहक उडान सुरू गर्नेछ।
व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने उपाध्यक्ष श्रेष्ठ बताउँछन्। जुनसुकै एयरलाइन्सले पनि यात्रुको सहजताका लागि सरकारको निर्देशनअनुसार विमानस्थल प्रवर्द्धनका लागि काम गर्नुपर्ने उनको भनाइ छ।
'हामीले यी दुई माग पूरा भएमा भैरहवाबाट उडान सुरू गर्ने प्रस्ताव प्राधिकरणसँग राखेका थियौं। यसमा प्राधिकरण सकारात्मक छ। हामी हातोमालो गर्न तयार छौं,' उनले भने।
ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत कम्पनीले यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्याम्प बस लगायत सेवा दिनुपर्ने हुन्छ। हाल प्राधिकरणले भैरहवा विमानस्थलमा एक वर्षका लागि ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई दिएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी दिनमा प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिइने बताए।
'अहिले नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ जिम्मा पाएकाे छ,' अधिकारीले भने, 'ठाउँ मात्र ओगट्न पाइँदैन। उडान सुरू भएन भने त्यो जिम्मा खोसिन्छ।'
स्वदेशी एयरलाइन्सले भैरहवाबाट उडान सुरू गरेपछि विदेशी कम्पनीलाई पनि उडान गर्न सहज हुने उनले बताए।
हाल भैरहवा विमानस्थलको मुख्य समस्याका रूपमा रहेको श्रम कार्यालय र अन्य काम सरकारको नेतृत्वमा भइरहेको पनि अधिकारीले जानकारी दिए।
यसअघि भैरहवाबाट उडान गरिरहेको एक मात्र कम्पनी जजिराले उडान तालिका घटाएपछि पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, कृषि मन्त्रालय र परराष्ट्र मन्त्रालय लगायत सरकारी निकायबीच विभिन्न यसका समस्याका विषयमा छलफल भएको थियो। छलफलपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु संख्या वृद्धि गरी सम्बन्धित मन्त्रालयले गर्नुपर्ने काम समेत छुट्याइएको छ।
जसअन्तर्गत नयाँ तथा व्यक्तिगत श्रम स्वीकृति, अभिमुखीकरण तालिम प्रदायक संस्था, बीमा, स्वास्थ्य परीक्षण लगायतका काम श्रम मन्त्रालयले तत्काल गर्नुपर्ने निर्णय भएको छ। त्यस्तै परराष्ट्र मन्त्रालयले भिसा सेन्टर र पासपोर्टको समस्या र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले क्वारेन्टाइनको व्यवस्था गर्नुपर्नेछ। हाल विमानस्थलमा क्वारेन्टाइनको सुविधा छैन।
अन्तर्राष्ट्रय विमानस्थलमा कार्गो प्लान्ट, पशु तथा खाद्य क्वारेन्टाइनका लागि आवश्यक कार्यालय स्थापना गर्नुपर्नेछ। त्यस्तैगरी पर्यटन र परराष्ट्र मन्त्रालयले भारतीय हवाई क्षेत्रको साझा प्रयोग तथा दुईतर्फी हवाई रूटसम्बन्धी काम गर्ने निर्णय भएको छ।
विभिन्न निकायबिच सम्वन्य भइरहेको र छिट्टै यो समस्या समाधान गरिने महानिर्देशक अधिकारीले बताए।
प्राधिकरणले विदेशबाट गौतमबुद्ध विमानस्थल हुँदै आउने यात्रुलाई आन्तरिक हवाइ यात्रामा २५ प्रतिशतसम्म छुट दिइने व्यवस्था गरेको छ।
आगामी दिनमा भैरहवाबाट उडान गर्न नेपाल एयरलाइन्सलाई पनि निर्देशन दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए।