होटल संघ नेपालले साँवा ब्याज बुझाउने समयसीमा बढाउन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ।
संघले बिहीबार साँवा ब्याज बुझाउने समयसीमा कम्तीमा दुई वर्षका लागि पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा उपलब्ध गराउन राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो।
संघकी अध्यक्ष सृजना राणाको नेतृत्वमा गण्डकी प्रदेश संघका अध्यक्ष हरिशर्मा गैरै, पोखरा क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, क्षेत्रीय होटल संघ सिद्धार्थनगरका अध्यक्ष सीपी श्रेष्ठ, क्षेत्रीय संघ चितवनका तर्फबाट बलराम सुवेदीका साथै संघका प्रथम उपाध्यक्ष विनायक शाह र महासचिव साजन शाक्यको टोलीले गभर्नर समक्ष ज्ञापन पत्र प्रस्तुत गरेका हुन्।
ज्ञापनपत्र वाचन गर्दै संघकी अध्यक्ष राणाले कोरोनाले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको बताइन्।
सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ६ लाख पुर्याउने प्रयास भइरहेको छ।
क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको बताउँदै अध्यक्ष राणाले व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले बैंकको बढ्दो ब्याजदर र समय सीमाभित्र साँवा ब्याज बुझाउने तीव्र ताकेता रहेको छ।
जसकारण हाल मुलुकभरका होटल व्यवसायीहरू आन्दोलित भइरहेको उनले बताइन्।
गभर्नर यस विषयमा सकरात्मक रहेको संघले जनाएको छ। उनले व्यवसायीलाई त्रसित नहुन अनुरोध गरेका छन्।
साथै मौद्रिक नीतिको पुनरावलोकन तथा नीतिगत व्यवस्थापनमार्फत उचित मागहरुको सम्बोधन गर्दै सहयोगी भूमिका रहने उनले बताए।