हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ।
मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो।
यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरुमा भरिभराउ छन्।
वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीमा सिजनको समयमा पर्यटक वृद्धिहुँदा उत्साहित भएका छन्। मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटनको संख्या बढेसँगै मुस्ताङका होटलहरुमा विदेशी र आन्तरिक पर्यटनहरुको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरु बताउँछन्।
व्यवसायीहरुले विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएका बताए। सामान्य अवस्थाको तुलनामा दशैँ तिहारपछि मुस्ताङका होटलहरुको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरुले बताए।
इरिक इन होटलका सञ्चालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक, भारतीय र अन्य विदेशी पर्यटनहरुले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरु भरिएको बताए।
उनले नेपाली र भारतीय पर्यटकले होटलहरु फुल अकुपेन्सी चलेको बताए। सञ्चालक तुलाचनले दुई वर्ष कोभिडको मार र यो वर्ष दशैँपछि अविरल वर्षाको कारण बाटोको समस्याको कारण अफ्ट्यारो परे पनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको बताए।
त्यस्तै,मुस्ताङ मुक्तिनाथमा रहेको ग्राण्ड साम्बलाला होटलका सञ्चालक सुरज गुरूङले पनि तिहारपछि मुस्ताङका सबै होटलहरुमा आन्तरिक, भारतीय र विदेशी पर्यटनहरुले कोठा भरिभराउ रहेको बताए। उनले मुस्ताङमा अक्टोबर र नोभेम्बर महिना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्ने बताए।
गुरूङले विगतका वर्षको भन्दा अहिलेको सिजनमा होटल व्यवसायीको लागि सन्तोषजनक रहेको बताए। उनले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक भारतीय र आन्तरिक तथा ट्रेकिङ पर्यटनको लागि स्थानीय तथा केन्द्रिय सरकारले बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्र्याउन सकिने बताए।
मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ। हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ।
पर्यटकहरुको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र बिस्तार पनि बढ्दै गएको छ। मुस्ताङमा पर्यटन पूर्वाधार विकास र बिस्तार तिब्र रुपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरुको धार्मिक तिर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्छ।
मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताल लगायतमा पर्यटक बढेका छन्।
मुस्ताङ देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। पछिल्लो समय नेपालका सबै पर्यटकीय क्षेत्रमा पर्यटक बढेसँगै १० महिनाको अवधिमा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल आएको बोर्डले जनाएको छ।
अक्टोबर महिनामा कोरोना भाइरस महामारी शुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन्। बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएका छन्। सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए।
राष्ट्रपति भण्डारीद्धारा बुद्ध मूर्ति र बुटिक रिसोर्टको उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गरेका छन्। गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि करोडौंको लगानीमा निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपतिले उद्घाटन गरेकी हुन्।
लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्किक र पर्यटकहरुको वृद्धि होस्, यस ठाउँको जीवनस्तर माथि पुगोस् र स्वच्छ सफा आकर्षक नगरी बनाउन आफ्नो परिवार नै मुस्ताङमा पुर्वाधार निर्माणमा अगाडि बढेको उल्लेख गरे।
होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो भए पनि स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल निर्माण गरिएको बताए।
गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा होटलका सञ्चालक लामाले मुक्तिनाथ क्षेत्रमा आउने भक्तजन पर्यटकलाई जाउँजाउँं मुक्तिनाथ बनाई धेरै पर्यटक भित्र्याउन सके सबैको नाम, ठाउँ फैलाउँदै जीवनस्तरमा सुधार ल्याउन सकिने बताए।
स्वदेशी, विदेशी पर्यटक र विशिष्ट पाहुनाहरुलाई सुविधायुक्त होटल बनाउने उदेश्यका थालेको तयारीले सार्थकता पाएकोे लामाको भनाई थियो ।
बुटिक अवधारणामा करिब १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५०० बोटको स्याउ फार्म पनि छ ।
शुक्रबारै राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान बिष्णुको प्रस्तर मुर्तिको शिलान्याससमेत गरिन्। उनले भगवान विष्णुको मुर्ति निमार्णका लागि शिलान्याससँगै ३५ फिटअग्लो गौतमबुद्धको मूर्तिको अनावरण समेत गरेकी थिइन्।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आग्रह गरिन्। ‘विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहि अनुसार ध्यानमा राखेर विकास गर्नुपर्छ,’ उनले भनिन्। उनले यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्नेगरी पर्यटकीय पुर्वाधारमा लगानी गर्न आग्रह गरिन्।
संघका पूर्वअध्यक्ष डा. शेष घलेले मुक्तिनाथ क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि भैरहेको विकास निकै सुस्त भएकाले पर्यटक आकर्षित गर्न पर्यपटकीय पूर्वाधार निमार्ण कार्यलाई तीव्रता दिन स्थानीय तथा सम्बन्धीत निकायले विशेष जोड दिनुपर्ने औंल्याए।
विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि ९ करोड रुपैयाँ लागत लाग्ने आँकलन छ। जहाँ संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन् । मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण भैरहेको आयोजकले जनाएको छ।
बुद्धको मुर्ति निर्माणमा करिव ६ करोड रुपैयाँ लगानी भएको छ। धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो। समुद्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ।
मुक्तिनाथ भगवान विष्णुको जन्मस्थान रहेको भनाई छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार करिव ८०० वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन्।
परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बद्र्धन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ । सोही गुरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्याशमा आफु संलग्न हुँन पाउँदा खुसी लागको मुर्तिका परिकल्पनाकार तथा गैरआवापिसय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले बताए। मूर्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताए। पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् ।
सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको करिव ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको बताए। समुद्र सतहबाट करिव ३ हजार ७०० मिटरको उचाईमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध थिए। काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको लामाले जानकारी दिए।
हेर्नुहोस् तस्बिरहरू