थाहा नगरपालिकाको आयोजनामा काठमाडौंको वसन्तपुरमा 'थाहा फोटो प्रदर्शनी २०७९' सम्पन्न भएको छ।
कालभैरव डबलीमा सम्पन्न भएको उक्त प्रदर्शनीमा छ सय विदेशीसहित करिब १३ हजार जनाले अवलोकन गरेका छन्।
थाहा नगरपालिकाको आयोजना, छिमेकी इन्द्रसरोवर गाउँपालिकाको समन्वय, पर्यटन बोर्डको प्रवर्धन, स्थानीय संस्था फरक सोचको व्यवस्थापन र ओम अध्याय रिट्रिटको सहयोगमा उक्त तीन दिने फोटो प्रदर्शनी भएको हो।
प्रदर्शनीमा स्थानीय युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगर र इन्द्रसरोबर आसपासका पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, जीवन यापन, कला, संस्कृति, धार्मिक स्थलहरु आदि समेटिएको करिब एक सय ओटा फोटोहरू यही कात्तिक १८ गतेदेखि २० गतेसम्म प्रदर्शनीमा राखिएको थियो।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताएका छन्।
मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताए।
उनले भने 'नगरपालिकाले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ।'
उनले नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले यो फोटो प्रदर्शनीले आन्तरिक र वाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्य तय गरेको बताए।
कार्यक्रमका आयोजक थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको विकासलाई टेवा पुगेको र देशको संघीय राजधानीको मुटुमा आफ्नो गाउँ र ठाउँ चिनाउने अवसर पाउँदा खुसी व्यक्त गरे।
प्रदर्शनीमा राखिएका फोटोहरू जर्मनी, न्युजिल्यान्ड, क्यानाडा र उक्रेनका पर्यटकले खरिद गरे भने करिब २५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादब जंग रायमाझीले बताए।
कार्यक्रमका प्रमुख सहयोगी संस्था ओम अध्याय रिट्रिटका अर्जुन सिंह ठकुरीले फोटो प्रदर्शनीले थाहा नगर, इन्द्रसरोवर र समग्र उत्तरी मकवानपुरको पर्यटन प्रवर्द्धन र प्रचार प्रसारका लागि सकारात्मक भूमिका खेलेको बताए।