रिठ्ठेपानी डाँडाको १४ मिटर कटानको काम सोमबारबाट सुरू भएको छ।
आगामी पुस ५ (नोभेम्बर २०) सम्म सक्ने गरी काम सुरू भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
१४ मिटर डाँडा कटानको काम सकिएलगात्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
'विमानस्थलको उडान तथा अवतरण जोखिम हुने देखिएको रिठ्ठेपानी डाँडा अधिकतम ४० मिटरसम्म कटान गर्नुपर्छ' सूचना अधिकारी भुलले भने, '१४ मिटर डाँडा कटान गरिसकेपछि जतिसक्दो चाँडो क्यालिब्रेसन उडान गर्ने तयारी छ।'
प्राधिकरणले यसअघि डाँडा कटान गर्न ठेक्का प्रक्रिया आह्वान गरेको थियो।
आह्वान गरिएको ठेक्कामा १० वटा कम्पनीको प्रस्ताव परेको थियो।
जसमा 'अर्थवोर्क इन रिठ्ठेपानी डाँडा एण्ड स्ट्याबिलाइजेसन एण्ड अदर एसोसियट' सँग २८ करोड ५८ लाख रूपैयाँ (भ्याटबाहेक) डाँडा कटानका लागि प्राधिकरणले सम्झौता गरेको छ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको मिति १ जनवरी २०२३ मा गर्ने गरी समय तोकिसकेको छ।